बाग्मती

अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै

१९ फागुन, काभ्रेपलाञ्चोक / सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मोड–सुधार गरिरहेको छ । राजमार्ग दायाँबायाँका विभिन्न स्थानमा समेत सर्भिस ट्र्याक खोल्न प्रक्रिया थालिएको छ । हाल धुलिखेलदेखि पाँचखालसम्म १५ किलोमिटर सडकखण्डको १३ स्थानमा मोड–सुधारको काम भइरहेको कार्यालयप्रमुख डिभिजन इन्जिनीयर सुमन योगेशले जानकारी दिए । उनले एक करोड ६० लाख बजेटमा उक्त सडकखण्डमा मोड–सुधार तथा धुलिखेलदेखि केही तल पहिरो नियन्त्रणको काम भइरहेको बताए । “धुलिखेल–पाँचखाल सडकखण्डमा ‘साइड डिस्ट्यान्स्’सहित मोड–सुधार भइरहेको छ, यसले दुर्घटना न्यूनीकरणमा मद्दत गर्नेछ”, योगेशले भने ।
उनका अनुसार बनेपा शहरस्थित अरनिको राजमार्ग दायाँबायाँ करीब डेढ किलोमिटर सर्भिस ट्र्याक रिसिलिङ कालोपत्रको प्रक्रिया अघि बढाइएको छ । सो योजनाका लागि छ करोड बजेट छुट्याइएको छ । काभे्रपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र साँगादेखि धुलिखेलसम्म दश किलोमिटर अरनिको राजमार्गको दायाँबायाँ सर्भिस ट्र्याक निर्माणका प्रक्रिया थालिएको कार्यालयका इन्जिनीयर जयराम अधिकारीले जानकारी दिए । उनका अनुसार पाँचखाल बजारमा ५०० मिटर पक्कीसहित सर्भिस ट्र्याक खोल्ने काम भइरहेको छ ।
हाल कार्यालयले डेढ करोड बजेटमा धुलिखेल बजारको मुख्य चोक सडक सुधार गर्दै पुरानो बजारमा फुटपाथ निर्माण थालेको छ । जीर्ण बनेपा–पनौती छ किलोमिटर पक्की गर्न सङ्घीय सरकारले हालैमात्रै १६ करोड ७५ लाख बजेट थपेपछि कालोपत्रको काम शुरु भएको छ । पनौती नगरस्थित खोपासीदेखि बेथानचोक गाउँपालिकाको कामीडाँडासम्म करीब ३० किलोमिटर कच्ची सडकको स्तरोन्नति गरिरहेको छ । सङ्घीय सरकारको पछिल्लो रु १५ करोड बजेटले हाल ड्रेन–रिटेनिङ वाल, कज–वे, ढलनिकस तथा ग्राभेलको काम भइरहेको कार्यालयले जनाएको छ । पनौती नगरले रु एक करोड थपको सो सडकखण्डको हाल चार हजार ५०० मिटर ग्राभेल भएको छ ।
सङ्घीय बजेटबाटै हाल नगरकोट–गैरिबिसौना–हिउँवापाटी १० किलोमिटर र बनेपा–रविओपी–पाँचखाल १६ किलोमिटर कच्ची सडक स्तरोन्नतिको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार बनेपा–रविओपी–पाँचखालअन्तर्गत छ किलोमिटर पक्की भइसकेको छ । योगेशले भने, “केही क्रमागत बजेटले स्तरोन्नति गर्दै ग्राभेल तथा ग्राभेलपछि पक्की गर्दै जानेछौँ ।” उनका अनुसार बजेटको निरन्तरताले कुनै पनि योजना रोक्नुपरेको छैन । पाँचखालमा पनि तीन किमी वैकल्पिक सडक पक्की भइरहेको छ । स्तरोन्नति प्रस्तावित सडक एवं सम्पदा निर्माणार्थ बोलपत्र आह्वान भइसकेको योगेशले बताए । सङ्घीय सरकारमार्फत हाल अरनिको राजमार्ग स्तरोन्नतिका लागि सात करोड ४० लाख, कोशीपूर्वस्थित सडक कालोपत्र गर्न ३३ करोड बजेट छुट्याइएको छ ।