कर्णाली प्रदेश

स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’

१९ फागुन, कर्णाली / जिल्लाको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँ घरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो ।
जिल्लाका नौवटै स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाअनुसार शुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीका अनुसार उक्त कार्यक्रममा भिडियो एक्सरे, इसिजी, नर्मल एक्सरे, प्रयोगशाला सेवा र निःशुल्क औषधि सेवा उपलब्ध गराइने भएको छ ।
जोरायल गाउँपालिकामा सञ्चालन भएको ‘गाउँ घरैमा चिकित्सक’ कार्यक्रमबाट दुई दिनमा २५० बढी बिरामीले स्वास्थ्य उपचार सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिए । उनले भने, “ज्येष्ठ नागरिक तथा स्वास्थ्यको पहुँचबाट टाढा भएका नागरिकका लागि हामीले गाउँ घरैमा चिकित्सक’ कार्यक्रम शुरु गरेका छौँ ।”
उनका अनुसार सोमबारदेखि शुरु भएको उक्त कार्यक्रम मङ्गलबारसम्म सञ्चालन भएको थियो । उक्त कार्यक्रममा जिल्ला अस्पतालका चिकित्सक डा ज्योति पाण्डे, डा प्रकाश ठकुल्ला र डा सोहनकुमार साहले सेवा दिएका थिए । गाउँघरमै चिकित्सक पुगेर स्वास्थ्य सेवा प्रदान गरिन थालेपछि उक्त गाउँपालिकाका स्थानीयवासी तथा बिरामी निकै खुशी भएको स्थानीयवासी चित्रराज भट्टले जानकारी दिए ।

होम ब्रोड ब्याण्ड सीम सञ्चालनमा

जिल्लामा नेपाल टेलिकमले फोरजी वायर लेस ताररहित होम ब्रोड ब्याण्ड सीम सञ्चालनमा ल्याएको छ । फोरजी वायर लेस ताररहित सीममा इन्टरनेट सेवा पाइने भएकाले उक्त सेवा नागरिकसम्म पु¥याउनका लागि सञ्चालन ल्याइएको नेपाल टेलिकम दिपायल राजपुरको कार्यालय जनाएको छ ।
डोटी जिल्लाका केही ठाउँबाहेक अधिकांश ठाउँमा वाइफाइ सेवाको इन्टरनेट सेवा नपुगेका कारण फोरजी वायर लेस ताररहित होम ब्रोड ब्याण्ड सीमले राम्रो काम गर्ने तथा सेवाग्राहीलाई पनि सहज हुने टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए ।
जिल्लाका अधिकांश सर्वसाधारणले वाइफाइ सेवाको पहुँच नपाएका कारण हाल मोबाइलबाटै इन्टरनेट चलाउने गरेका छन् । जिल्लामा सञ्चालन भइरहेको फोरजी वायरलेस सीमले इन्टरनेट चलाउन यहाँका नागरिकलाई निकै सुविधा हुने टेलिकम जिल्ला कार्यालय सिलगढीका निमित्त कार्यालय प्रमुख भीम थापाले जानकारी दिए ।
हाल टेलिकमले वितरणसहित सञ्चालनमा ल्याएको उक्त सीममा वाइफाइ जत्तिकै सेवा सुविधा रहेको बताइएको छ । निमित्त कार्यालय प्रमुख थापाका अनुसार यहाँका ग्रामीण भेगमा उक्त सीमको सहयताले ग्राहकले राउटर राखेर अरु मोबाइल र कम्युटरमा पनि ढुक्कले इन्टरनेट चलाउन सक्ने व्यवस्था मिलाइएको छ ।
उक्त सीममा ९०० र एक हजार ६०० रुपैँयाको डाटा प्याक रहेको बताइएको छ । टेलिकमका अनुसार ग्राहकले प्रति महिनाको रु ९०० को ६० जिबी र एक हजार ५०० को १२० जिबी डाटा प्याक खरीद गर्न सक्ने छन् । उक्त सीम ९० रुपैयाँमा नेपाल टेलिकमको कार्यालयबाट खरीद गर्न सकिने जनाइएको छ ।