प्रदेश 1

खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

१९ फागुन, खोटाङ / हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली जोड्ने सडक निर्माण भएको छ । वडा कार्यालयको पहलमा बडहरेबाट दूधकोशी किनारमा पर्ने घोपाटार पुग्ने करीब ११ किलोमिटर सडक निर्माण गरिएको हो ।
ओखलढुङ्गातर्फ सडक बनिसकेको र बडहरेतर्फबाट पनि घोपाटार पुलसम्म पुग्ने सडक निर्माण गरिएको बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताए । “घोपाटारसम्म पु¥याइएको सडकबाट ओर्लिएपछि पुरानो झोलुङ्गेपुलबाट दूधकोशी तरेर आ–आफ्नो गन्तव्यतर्फ यात्रा गर्न सकिने वातावरण बनेको छ”, उनले कुरा गर्दै भने, “ओखलढुङ्गातर्फ दूधकोशीको किनारै किनार सोलु दूधकुण्ड जोड्ने सडक बनिसकेको अवस्थामा खोटाङतर्फबाट बडहरे–घोपाटार सडक विस्तार गरिएको हो ।”
करीब नौ लाखको तेल खरीद गरेर नगरपालिकाकै मेशिन प्रयोग गरेर सडक निर्माण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । लामो समयदेखि झोलुङ्गे पुल सञ्चालनमा रहेको घोपाटारमा पक्की पुल निर्माण गर्न सके त्रिधार्मिकस्थल हलेसीबाट ओखलढुङ्गा, सोलुखुम्बु पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने बताइएको छ ।
ओखलढुङ्गामा रहेको सामुदायिक मिसन अस्पताल पुग्न हाल हलेसी–जयराम–हिलेपानी–ओखलढुङ्गा सडक प्रयोग भइरहेको अवस्थामा वडा कार्यालयले घोपाटारको छोटो बाटो खोल्ने प्रयत्न गरेको जनाइएको छ । घोपाटारमा मोटरेबल पुल बनेमा ओखलढुङ्गाबाट दूधकोशी किनार हुँदै घोपाटारबाट नदी तरेर हलेसी पुग्ने बाटो खुल्नेछ ।
बडहरे–घोपाटार सडक भविष्यमा हलेसी तुवाचुङ नगरपालिकाको तल्लो तटीय क्षेत्रमा निर्माण गरिने सडकसँग समेत जोडिने नगरप्रमुख इवन राईले जानकारी दिए । अधिकांश भाग दूधकोशी र सुनकोशीले छेकिएको नगरपालिकाको तल्लो तटीय क्षेत्रमा नगर परिक्रमा गर्ने सडक निर्माणको योजना बनिरहेको जनाइएको छ ।
निर्माण सम्पन्न गरिएको सडकमा नियमित यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीसँग समन्वसमेत भइरहेको जनाइएको छ । भर्खरै निर्माण सम्पन्न भएको उक्त सडकखण्डमा यातायात सञ्चालन भएपछि दुई जिल्लाबीचको आवतजावतमा सहज हुने अपेक्षा गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
यस्तै हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारबाट पनि घोपाटार जोड्ने सडक निर्माण शुरु गरिएको छ । नगरपालिकाको मेशिन र तेल प्रयोग गरेर मङ्गलटारको भदौरेबाट घोपाटार जोड्ने सडक निर्माण शुरु गरिएको मङ्गलटारका वडाध्यक्ष रमेश राउतले जानकारी दिए । करीब १२ वर्षअघि शुरु गरिएको हलेसी–मङ्गलटार–घोपाटार र दुर्छिम–मङ्गलटार–घोपाटार सडकको परिकल्पनाअनुसार वडा कार्यालयले मङ्गलटारबाट घोपाटार पुग्ने सडक विस्तार शुरु गरेको जनाइएको छ । दशकअघि नै मङ्गलटार हुँदै घोपाटार पुग्ने सडक निर्माण गर्ने योजना बनेको भए पनि हालसम्म अधुरो रहेको थियो ।
मङ्गलटारबाटै सल्लेको महादेवबेँसी झर्ने सडक पनि निर्माण हुने वडाध्यक्ष राउतले बताएका छन् । ११ वडा रहेको उक्त नगरपालिकामा सडक निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा सडक निर्माणसँगै बृहत् पम्पिङ खानेपानी आयोजनाको काम पनि तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोशीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीव्र गतिमा अगाडि बढाइएको हो ।
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिरसमेत रहेको उक्त नगरपालिकाभित्रका करीब २० हजार उपभोक्तालाई वितरण गर्ने गरी नदीको पानी तान्न सडक निर्माण, विद्युत् विस्तार र वितरण केन्द्रको ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको खानेपानी निर्माण उपभोक्ता समितिले जनाएको छ ।