प्रदेश 2

अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा

१९ फागुन, वीरगञ्ज / पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारी साधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ ।
जिल्लाको प्रमुख बजार वीरगञ्ज, पोखरियालगायत शहरहरूमा चल्ने इरिक्सा र अटोरिक्साका चालकसँग सवारी साधन अनुमतिपत्र हुने गरेको छैन । बजार आउने सर्वसाधारणका लागि पहिलो रोजाइ बनेका यस्ता सवारी साधनको चालकसँग भने सवारी चालक अनुमतिपत्र नभएका कारण जोखिम बढ्दै गएको हो ।
जहाँ भन्यो त्यही पु¥याउने, खोजेको बेला पाउने र ठेलमठेल यात्रा गर्नु नपरेकाले इरिक्सा र अटोरिक्सा सर्वसाधारणको पहिलो रोजाइमा परे पनि सहजै सवारी चालक अनुमतिपत्र लिन नसकिने भएकाले चालकहरू जोखिम मोलेरै यस्ता सवारी साधन चलाउन बाध्य भएको देखिन्छन् ।
ट्याम्पु र इरिक्सालाई एउटै दर्जामा राखेर यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वीरगञ्जले पटकपटक फारम खुलाएर सी—क्याटगोरीको चालक अनुमतिपत्र वितरण गर्ने गरेको सो कार्यालयका अधिकृत रामअयोध्या रामले बताए ।
पर्सामा गुड्ने अधिकांश इरिक्सा र ट्याम्पु चालकसँग भने सवारी चालक अनुमतिपत्र छैन । वीरगञ्ज पोखरीया रोडमा चल्ने ट्याम्पु चालक दिल प्रसादले आफूसँग सवारी चालक अनुमतिपत्र नभएको बताए । सो रुटमा करीब २०० ट्याम्पु चालकमध्ये मुस्किलले १०—१५ जनासँग मात्र सवारी चालक अनुमतिपत्र भएको अर्का ट्याम्पु चालक शङ्कर गोसाईंको भनाइ छ ।
सवारी चालक अनुमतिपत्रका लागि पटकपटक धाउँदासमेत सहजै पाउन मुस्किल रहेको र कार्यालय वरिपरि रहेको दलालहरूले २५ हजारसम्म माग्ने गरेका कारण आफूले विना अनुमतिपत्र ट्याम्पु चलाउँदै आएको अधिकांश चालकहरूको गुनासो छ ।
चालकहरू भन्छन्, “विना अनुमतिपत्रले ट्याम्पु र इरिक्सा चलाउँदा बाटोमा ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको छ भने सो जरिवाना तिर्न हाम्रो बाध्यता रहेको छ । सवारी चालक अनुमतिपत्र विना इरिक्सा र ट्याम्पु चलाउने समस्या पर्सा जिल्लाबाहिर अन्य जिल्लामा पनि रहेको छ । धेरैले चालक अनुमतिपत्र बनाइसकेको छ र जसले सवारी चालक अनुमतिपत्र विना चलाइरहेको फेला परेमा त्यस्तोलाई कारवाहीसमेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको भनाइ छ । पर्सा, बारा र रौतहट गरी यातायात व्यवस्था कार्यालय सवारी वीरगञ्ज शाखामा हालसम्म ३५ हजार ९४७ वटा दर्ता भएका छन् भने २०४४ सालदेखि हालसम्म १४२ इरिक्सा र एक हजार ८८४ वटा ट्याम्पु चालकले मात्र सवारी चालक अनुमतिपत्र लिएको सो कार्यालयले जनाएको छ ।
इरिक्सामा कुनै पनि प्रदेशमा कर लाग्दैन तर प्रदेश नं २ मा प्रति इरिक्सा पाँच हजार कर लिने गरेकाले कतिपय इरिक्सा दर्ता विना नै सञ्चालनमा रहेको छ । इरिक्सा र ट्याम्पुको अव्यवस्थित पार्किङले वीरगञ्जका प्रमुख व्यापारिक बजार अस्तव्यस्त बनेको छ भने चालकको लापरवाहीको कारण दुर्घटनासमेत बढेको छ ।