गण्डकी प्रदेश

छिस्तीमा हवाई चप्पल उत्पादन

१९ फागुन, बलेवा । बागलुङको दक्षिण जैमिनी नगरपालिका–८ छिस्तीका युवा कमल विश्वकर्माले गाउँमै हवाई चप्पल उत्पादन गर्न शुरु गरेका छन् । रोजगारीको सिलसिलामा विदेशिने युवाहरुको जमात बढिरहेका बेला छिस्तीका युवा विश्कर्माले ग्रामीण क्षेत्रमै व्यवसायको प्रर्वद्धन गर्ने उद्देश्यले गाउँमा हवाई चप्पल उत्पादन गर्न शुरु गरेका हुन् ।
केही समयअघि पोखराका केही सञ्चारमाध्यममा समेत काम गरेका विश्वकर्माले अहिले भने गाउँमै केही गर्नुपर्छ भन्ने हेतुले छिस्ती धुसमा चप्पल उद्योग सञ्चालनमा ल्याएको बताए । मानिसका लागि अति आवश्यक पर्ने चप्पल बाहिरी देश अथवा गाउँभन्दा बाहिरबाट ल्याउँदा धेरै महँगो पर्ने भएकाले आफूले गाउँमै उद्योग सञ्चालन गरेको उनको भनाइ रहेको छ ।
पाँच लाख लगानी गरेर सञ्चालन गरिएको उद्योगमा दैनिक १०० देखि १५० जोडीसम्म चप्पल उत्पादन हुँदै आएको उनले जानकारी दिए । उत्पादित चप्पल बागलुङ बजारसँगै छिमेकी जिल्ला गुल्मी, पर्वतमा पनि बिक्री भइरहेको विश्वकर्माले बताए ।
स्वदेशमै राम्रो आम्दानी गर्न सकेमा विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने उल्लेख गर्दै उनले अर्काको देशमा रातदिन पसिना बगाए पनि आत्मसम्मान नहुने भएकाले स्वदेशमा व्यवसाय शुरु गरेको बताए । अहिले उद्योगमा बाबुछोराले काम गरिरहेको र अब केही समयपछि लगानी बढाएर गाउँमै रहेका युवाहरु पनि रोजगार दिने सोचमा रहेको बताए ।

पूर्व विद्यार्थीले दिन्छन् छात्रवृत्ति

अमेरिकामा बसेर काम गरिरहेका डा हेमराज रेग्मीले दुई दशकअघि हरिचौरको न्यू लाइफ आवासीय माविमा पढ्थे । उनी विदेशमा पुगेर पेशामा जोडिएपछि गाउँका बालबालिकालाई छात्रवृत्ति दिने काममा सहयोग गर्न थालेका छन् ।
पछिल्लो सात वर्षदेखि उनले ६ जना बालबालिकालाई निःशुल्क पढाएका छन् । कक्षा १२ सम्म ती बालबालिका पढाउन आवश्यक पर्ने रकम उनले पठाउने गरेको पूर्वविद्यार्थी फमबहादुर खत्रीले बताए । बालबालिकालाई शिक्षण शुल्क, पोशाक, पुस्तक, स्टेशनरीलगायत सबै सहयोग गरेका छन् । उनको सहयोगबाट दलित, जनजाति र विपन्न परिवारका बालबालिकाले संस्थागत विद्यालयमा पढ्ने अवसर पाएका छन् । उनले छात्रवृत्ति दिएका सबै बालबालिका गलकोट नगरपालिका–६ को न्यू लाइफ आवासीय माविमै अध्ययन गर्छन् ।
हरिचौरकै जयबहादुर बुढाथोकीले छात्रावाससहितको खर्च व्यहोरेर तीनजना बालबालिका पढाएका छन्। रेग्मी र खत्रीले वार्षिक चार लाख र बुढाथोकीले ६ लाखभन्दा बढी रकम छात्रवृत्तिमा खर्चेको बताए । क्यानडामा बसेका राजन खत्रीले पनि गलकोटकै पाँचजना बालबालिकालाई नियमित पढाएका छन्। गलकोट नगरपालिका–५ का खत्रीले पनि सबै बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने लक्ष्य राखेका छन् । विद्यालयले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका छनोट गरेर दिएपछि छात्रवृत्ति दिएको प्रअ वीरबहादुर बोहराले बताए ।
“नियमित सहयोग आएकाले बालबालिका र उनीहरुको अभिभावकलाई हामीले कुनै शुल्क माग्नु परेको छैन”, बोहराले भने, “विद्यालयमा पनि स्वास्थ्य सामग्रीहरु सहयोग गरिरहनुभएको छ ।” प्रवासबाटै २० जनाभन्दा बढी बालबालिकालाई छात्रवृत्ति प्राप्त भएको उनले बताए ।
उक्त विद्यालयको २०५१ सालदेखि एसएलसी उत्तीर्ण भएका ७०६ मध्ये झण्डै ४०० भन्दा बढी जापान छन् । तीबाहेक धेरैजसो अमेरिका र अष्ट्रेलियामा पुगेका छन् । अन्यले पनि भारत र नेपालका मुख्य शहरमा उत्कृष्ट चिकित्सक, इन्जिनीयर र व्यवसायी बनेर स्थापित भइसकेको तथ्याङ्क छ ।

चमुवाखोलामा ‘पक्की कल्भर्ट’

बागलुङको गलकोट नगरपालिका–४ चमुवाखोलामा पक्की कल्भर्ट निर्माण भएको छ । गलकोट नगरपालिकाको २४ लाख बजेटबाट उक्त कल्भर्ट निर्माण भएको हो । नगरपालिकाले चालू आर्थिक वर्षमा सडक सञ्जाल स्तरीकरणअन्तर्गत पूर्वाधार विकासका लागि उक्त सडकमा बजेट विनियोजन गरेको थियो ।
चमुवाखोलामा निर्माण भएको सात मिटर लम्बाइ रहेको कल्भर्ट चार मिटर ५० सेन्टिमिटर चौडाइ तथा तीन मिटर उचाइ रहेको कल्भर्ट निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए । कल्भर्टको दुवैतर्फको सडक करीब १० मिटर फिलिङको काम भएको उनले बताए ।
खोलाको सतहलगायत कल्भर्टको सुरक्षाका लागि दायाँबायाँ गरी २८ वटा जाली निर्माण गरेको जानकारी दिँदै खड्काले कल्भर्टको केही काम र बाटोको सतह पुर्नका लागि केही काम बाँकी भएको भए पनि सञ्चालन गरिएको बताए ।
गलकोट नगरपालिका–४ देखि नुवाकोट हुँदै बरेङ गाउँपालिकाको सुखौरा सल्यान जोड्ने सडकअन्तर्गत चुमवाखोलामा कल्भर्ट निर्माण भएसँगै स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।
गलकोट नगरपालिकाले २० लाख तथा स्थानीयरुपमा जनश्रमदानबाट चार लाख गरी २४ लाखमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएका कल्भर्टमा फागुन २० गतेसम्म ठूला सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको उपभोक्ता समितिका सचिव डिलबहादुर खातीले जानकारी दिए ।