पु.समाचार

कांग्रेसले बोलायो फागुन २१ गतेका लागी संसदीय दलको बैठक

१९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि संसद्मा प्रस्तुत हुने विषयमा निर्णय गर्न यही फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकेको हो ।

गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद् फागुन ११ गते सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित भएको थियो । प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भए पनि कांग्रेसले भने उनीहरुको आधिकारिकताअघि कुनै पनि समूहसँग सहकार्य गर्न नसक्ने निर्णय गरेको थियो ।

कांग्रेस संसदीय दलले त्यही निर्णयलाई निरन्तरता दिन्छ वा त्यसलाई फेरेर प्रधानमन्त्री ओलीको पक्ष वा विपक्षमा जाने निर्णय गर्छ भन्ने कुरा नेपालको राजनीतिका लागि नै महत्वको विषय हो ।

सत्तारुढ नेकपामा दुई समूह भइसकेकाले उनीहरु एक्लैले सरकार बनाउन नसक्ने अवस्थामा सरकार गठनका लागि नेपाली कांग्रेस निर्णायक शक्ति बनेको छ । यस्तो बेला कांग्रेसले गर्ने निर्णयबाट नै नयाँ सरकारको खाका तयार हुनेछ ।