गण्डकी प्रदेश

पालबाट पक्की भवनमा

१९ पुस, टिस्टुङ / विसं २०७२ को गोर्खा भूकम्पले भवन भत्काएपछि मकवानपुरको पर्यटकीय क्षेत्र सीमभन्ज्याङमा रहेको प्रहरी चौकी ‘टेन्ट’को ओत लाग्न बाध्य भयो । उसै त बाह्रैमहिना जाडो हुने दुई हजार ६०० मिटर उचाइको डाँडा, वर्षायाममा पानी चुहेर झनै बसिनसक्नु । आम समुदायको सुरक्षामा खटिनुपर्ने प्रहरी आफैँ असुरक्षित भएर पनि काममा खटिएकै थिए ।
यसरी नै सीमभन्ज्याङ प्रहरी चौकीका प्रहरीले पाँच वर्ष काटे । यस वर्षको जाडो यामले बिदा लिनै लाग्दा भने सीमभन्ज्याङ प्रहरी चौकीले नयाँ पक्की घर पाएको छ । सिमभञ्ज्याङ उत्तरी मकवानपुरको थाहा नगरपालिका–४ मा पर्छ । नेपालकै सबैभन्दा जेठो त्रिभुवन राजपथबाट थाहा नगरपालिका प्रवेश गर्ने दक्षिणी नाका यही हो ।
मुलकमा शान्ति प्रक्रिया शुरु भएपछि २०६४ सालमा सिमभन्ज्याङमा इलाका प्रहरी कार्यालय पालुङअन्तर्गत रहने गरी प्रहरी चौकी स्थापना गरिएको थियो । प्रहरी चौकी स्थापना भए पनि उपयुक्त भवनको अभाव हुँदा प्रहरी टोली ‘गुफाजस्तो’ सानो भवनमा बस्दै आएको थियो ।
त्यही भवन पनि भूकम्पले भत्काएपछि प्रहरी आफैँ विपद् जोखिमका दृष्टिले असुरक्षित बन्दै आएको थियो । अहिले चार कोठे पक्की भवनमा बस्न पाउँदा सीमभन्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गणेश थापा निकै खुशी छन् । ‘टेन्टमा बसिनसक्नु थियो, ठाउँठाउँमा च्यातिएर प्वाल परेका थिए, जीवन कष्टकर थियो,’ टेन्टमा बस्दाको अनुभव सुनाउँदै उनले भने, “अहिले त निकै सुविधा भएको छ ।
कार्यस्थलमा खटिनु नपर्दा ढुक्कले सुत्न पाइने भएको छ ।” यसअघि कार्यस्थलमा नरहँदा पनि ढुक्कले सुत्न नसकिने हुँदा काममा खटिएका प्रहरीसरह खडा भइरहनुपर्ने बाध्यता रहेको उनले बताए ।

यसरी बन्यो भवन

थाहा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय पालुङले प्रहरी चौकी भवन पुनःनिर्माणको लागि माथिल्लो निकाय र थाहा नगरपालिकासँग आग्रह गरिरहेकै थियो । तर सम्भव भइरहेको थिएन । यही क्रममा वाग्मती प्रदेश सरकारले मर्मत–सम्भारको लागि रु तीन लाख उपलब्ध गराउन सक्ने भएपछि थाहा नगरपालिकाले थप रकम उपलब्ध गराउने आँट ग¥यो । नगरपालिकामा चार लाखभन्दा बढी रकम नभएपछि जम्मा सात लाखले चार कोठाको पक्की भवन बन्ला कि नबन्ला भन्ने प्रश्न खडा भयो । यति लगानीमा चार कोठे भवन निर्माण गर्न कोही अघि सरेनन् ।
थाहा नगरपालिकामा इन्टरलक इँटा उत्पादन गरेर भूकम्पपीडितलाई सस्तो मूल्यमा उपलब्ध गराउँदै आएका स्थानीय युवा दीपक हमाललाई भने प्रहरी चौकी भवन निर्माण एउटा अवसर बन्यो । आफैँले उत्पादन गरेको इन्टरलक इटाको प्रयोग गरेर हमालले रु सात लाखमा शौचालयसहितको चार कोठे भवन बनाएर नगरपालिकालाई हस्तान्तरण गरे । हमालले तीन लाख ५० हजारमा भूकम्पपीडितको दुई कोठे भवन भवन निर्माण गर्दै आइरहेएको छन् । यही लागतमा अहिलेसम्म दुई सय बढी घर बनाइसकेका उनलाई सात लाखमा चार कोठाको घर बनाउनु चुनौतीको विषय थिएन । “इन्टरलक इँटाबाट सस्तोमा घर बनाउन सकिन्छ । सिमेन्ट थोरै लाग्ने, कामदार कम लाग्ने, रातो इँटाको तुलनामा सस्तो पर्ने र कम समयमा काम सकिने हुँदा साँढे तीन लाखमा जस्ताले छाएर दुई कोठाको भवन बनाउन सकिन्छ,” हमालले भने ।
सीमभन्ज्याङ प्रहरी चौकीको भवन थाहा नगरपालिकाले प्रहरीलाई हस्तान्तरण गरिसकेको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नवनिर्मित भवनको साङ्केतिक साँचो जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठोरलाई हस्तान्तरण गरेका थिए । नयाँ बनेको भवनमा विद्युत् जडान, रङ्गरोगन, झ्याल ढोकामा पर्दालगायत साजसज्जा गरेर हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
प्रहरीका लागि भवन बनाएर हस्तान्तरण गरेकामा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठोरले थाहा नगरपालिकाप्रति खुशी व्यक्त गरे । भवनको साङकेतिक साँचो जिल्ला प्रहरी कार्यालय प्रमुखको कार्यकक्षमा प्रदर्शनीका लागि राख्ने उनले बताए ।