गण्डकी प्रदेश

श्रीमतीले श्रीमान् बोकेर दौडिने

१९ फागुन, दमौली / नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।
गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।
गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविरसमेत आयोजना गर्दैछ ।

म्याग्देमा छात्रा फुटबल प्रतियोगिता हुने

नारी दिवसका अवसरमा म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही फागुन २२ र २३ गते राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । प्रतियोगितामा ६ सामुदायिक र तीन निजी विद्यालयका छात्रा सहभागी हुनेछन् ।

चौंरीदेउरालीमा अध्यक्ष कप फुटबल फागुन २८ देखि

बनेपा– काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७’ हुने भएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमानुसार फागुन २८ गतेदेखि चैत १ गतेसम्म प्रतियोगिता गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष विनोद घिसिङले बताए ।
प्रतियोगितामा प्रत्येक वडाबाट सहभागी हुने छन् । यस पटकको फुटबल प्रतियोगिता वडा नं ३, माझीफेदा खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी सङ्ख्या, अतिरिक्त र अधिकृतसहित १३ जना सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत महान्दास लामाले बताए । उनका अनुसार यस पटक प्रतियोगितामा पहिलो हुनेले एक लाख पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ ।