बाग्मती

भूकम्पले घर क्षति भएका थप ५४५ को निवेदन

१९ फागुन, चितवन / भूकम्पका कारण घरमा क्षति भएर मर्मतसम्भार मात्र गर्न निवेदन दिएकामध्ये ५४५ जनाले नयाँ घर बनाउनका लागि अनुरोध गरेका छन् । शुरुमा सामान्य मर्मतसम्भारबाट घर बनाउने भनिए पनि पछि उनीहरूले पूरै घर निर्माणका लागि निवेदन दिएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनमा घर मर्मतका लागि आवेदन दिएका एक हजार ३७८ मध्ये ५४५ जनाले पूरै घर बनाउन निवेदन दिएका हुन् । एकाइका इञ्जिनीयर सुवास नेपालका अनुसार निवेदन परेकामध्ये २८३ को नाम प्राधिकरणबाट स्वीकृत भइसकेको छ । एक सय ६२ को नाम पठाइसकिएको र अन्य १०० को नाम पठाउने तयारीमा रहेको उनले जानकारी दिए । घर मर्मत मात्रै गर्ने निवेदन दिएका प्रबलीकरणमा परेका मध्ये १७ जनाले दोस्रो किस्तावापतको रकमसमेत निकासा गरिसकेका छन् ।
घर प्रबलीकरण गर्नेहरूले पहिलो र दोस्रो किस्ता क्रमशः ५० र ५० हजार अनुदान पाउनेछन् । नयाँ घर बनाउनेहरूले भने तीन किस्ता गरेर तीन लाख पाउनेछन् । सेवाग्राहीमध्ये ९८ जनाको नाम हटाउनका लागि सिफारिस गरिएको छ । सेवाग्राही सम्पर्कमा नआएका कारण उनीहरूको नाम हटाइएको हो ।
जिल्लामा भूकम्पको समयमा सात हजार ८६० घर पुनःनिर्माण गर्नुपर्ने भएको थियो । तीमध्ये हालसम्म छ हजार २०२ घर पुनःनिर्माणको काम सम्पन्न भएको छ । घर निर्माण सम्पन्न हुनेमा ८२ दशमलव नौ प्रतिशत रहेको नेपालले बताए । उनका अनुसार पुनःनिर्माणतर्फ पहिलो किस्ता सात हजार ५५५ र दोस्रो किस्ता छ हजार ६२४ को निकासा भइसकेको छ ।
उनीहरूले पहिलो, दोस्रो र तेस्रो किस्तावापत क्रमशः ५० हजार, एक लाख ५० हजार र एक लाख पाउनेछन् । पुनःनिर्माणतर्फ ३०५ जनाको नाम लाभग्राहीबाट हटाउनका लागि सिफारिस गरिएको छ । भूकम्पका कारण जिल्लाका सातवटै पालिका प्रभावित भएका थिए । तीमध्ये जिल्लाको पहाडी क्षेत्रमा रहेको इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको थियो ।