पु.समाचार

संसद अधिवेशन तयारीस्वरूप आज सभामुख र सांसदहरूले कोरोना विरुद्धको खोप लगाउँदै

१९ फाुगुन, काठमाडौं । फागुन २३ गतेका लागि आह्वान भएको प्रतिनिधिसभा अधिवेशनको तयारीस्वरूप आज सभामुख अग्नि सापकोटा लगायत सांसदहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाइँदैछ ।

संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाइने छ ।

बुधवार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदलाई खोप लगाइने सचिवालयले जनाएको छ ।

बुधवारै प्रतिनिधिसभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला हेर्ने पत्रकारहरूलाई समेत खोप लगाइँदैछ । सचिवालयले खोप लगाउने कार्य ३ दिनका लागि तोकेको छ । भोलि र पर्सि अरु लक्षित व्यक्तिलाई खोप लगाइने छ ।

भोलि बिहीवार संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिव लगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई खोप लगाइने सूचनामा उल्लेख छ । पर्सि शुक्रवार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र छुटेका व्यक्तिलाई खोप लगाइने सूचनामा उल्लेख छ ।