बाग्मती

प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान

१८ फागुन, भरतपुर / चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचान सहितको बजारीकरण अभियानको घोषणा गरिएको छ ।
भरतपुरमा आज आयोजित कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक सङ्घ चितवनले अभियानको घोषणा गरेका हुन । कार्यक्रममा प्राङ्गारिक उत्पादनको लोगोसमेत सार्वजनिक गरिएको छ । अबदेखि एउटै लोगोमा जिल्लामा उत्पादन भएको अर्गानिक बस्तु बजारमा जानेछ । जसले गर्दा उपभाक्तालाई उपभोग्य बस्तु चिन्न सहज हुने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए ।
“अभियानमा सहभागी हुन चाहने कृषकको आवेदन सङ्कलन गरिन्छ”, उनले भने, “यसको प्रमाणीकरणमा जान चाहने किसानले पेश गरेको विवरण फिल्ड अनुगमन र परीक्षणपछि प्रतिवेदन तयार गरिन्छ ।” पहिलो चरणमा जिल्ला प्राङ्गारिक सङ्घ चितवन पिजिएस र दुई प्राङ्गारिक उत्पादन खरिदकर्ताबीच सम्झौता गरिएको छ ।
पहिलो चरणअन्तर्गत भरतपुर १० स्थित डोको नाम्लो किसान घर र भरतपुर– १० स्थित शिखर खाद्य कुन्ज भान्सानै औषधालय थानिचोकसँग सम्झौता गरिएको हो । अर्गानिक बस्तु खरीदका लागि कालीमाटी फलफूल तथा तरकारी थोक बजारको औसत मूल्यलाई आधार मानिने ढकालले बताए । अभियान सफल बनाउन लागि कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, स्थानीय तह र कृषि विकास निर्देशनालयले अनुगमन गर्नेछन् ।
प्रमुख ढकालले जिल्लामा वृहत अर्गानिक क्षेत्र घोषणा गर्नेतर्फ पनि कार्यालयले सोच बनाएको बताए । उत्पादनलाई बजारसँग जोड्ने यो अभियानको शुरुवात महत्वपूर्ण भएको उनको भनाइ छ । अनुसन्धानकर्ता तथा अग्रज किसान डा भानिश्वर पोखरेलले धेरै लामो समयदेखि बहसमा आएको कुरा आजदेखि औपचारिक शुरुवात भएको भन्दै खुशी व्यक्त गरे । उनले सबैको सामूहिकताबाट मात्र यसबाट प्रतिफल प्राप्त हुने धारणा राखे । उनले प्राङ्गगारिकमा लाग्ने अभियानकर्मीका कारण यो अवस्थासम्म आएको भन्दै अर्गानिकको गुणस्तरमा शङ्का गर्नुपर्ने अवस्था नरहेको बताए ।
अर्गानिक खेती गर्दै आएका भरतपुरका अग्रज किसान चन्द्रप्रसाद अधिकारी लामो समयको प्रयासपछि एउटा अभियानको शुरुवात भएको भन्दै किसानका लागि एतिहासिक दिन भएको बताए । कृषि उपज स्वस्थ्यकर बनाउँदै भान्सलाई नै औषधालयको रुपमा विकास गर्ने योजना रहेको धारणा राखे । “कृषि उत्पादन औद्योगिक उत्पादन जस्तो सहज हुदैन”, उनले भने, “उत्पादित बस्तुको सन्तुलित रुपमा बजारीकरणका लागि चुनौती छ । हामी सबैसँग सहकार्य गरेर काम गर्नुपर्छ ।” उनले जिल्लामा जे जति अर्गानिक उत्पादन भएका छन्, ती ढुक्कसँग खाँदा हुने बताए । “सरकारी निकायसँगको सहजीकरणमा उत्पादन गरिरहेका छौं । उपभोक्ताले दिने सल्लाह सुझावलाई हामी मनन् गर्छौ । किसानले मागेका उत्पादन दिने प्रयास गर्छौ”, उनले भने, “शुरुवातमा सबै उत्पादन दिन सम्भव नभए पनि क्रमशः बढाउँदै लैजाने योजनामा हामी छौं ।” उनले बजारमा कुन अर्गानिक हो कुन होइन चिन्ने अवस्था थिएन । बजारीकरणको समस्या थियो । अबदेखि अर्गानिक पहिचान र बजारीकरणको समस्या समाधान हुन्छ । एक दुई वर्षमा राम्रो परिणाम आउँछ भने ।
क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराइले खाद्य क्षेत्रमा राम्रो कामको शुरुवात भएको बताउँदै यो अभियानमा होटल व्यवसायीले सहकार्य गर्छ भने । “हामीले जे खोजेका थियौं । त्यो पाउने अवस्था आउन लागेको छ । हप्ताको एक दिन व्यवसायीले अर्गानिक उत्पादन लिने बातावरण बनाउने छौं”, उनले भने ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले यो अभियान सफल बनाउन सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । “बजारका कस्मेटिक बस्तुले हाम्रो स्वास्थ्य बिगारेको छ । यो लोगो अङ्कित स्टिकर टाँसेको उपभोग्य बस्तुले उपभोक्ताालाई ढुक्क बनाउनेछ”, उनले भने, “यो स्टिकर टाँसेको उत्पादनमा रासायनिक विषादिको अवशेष भेटिने छैन् ।”
उनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढायौं भने कुनै पनि रोेगले आक्रमण गर्न नसक्ने बताउँदै त्यो अर्गानिक उत्पादनबाट मात्रै पाइन्छ भने । एकैपटक अर्गानिकमा जान नसकिने भन्दै उनले यसलाई क्रमशः कार्यान्वयनमा लैजानुपर्ने बताए। अर्गानिक उत्पादनलाई सरकारले पनि सहयोग गरेको र विज्ञले निःशुल्क परामर्श दिएको उनको भनाइ छ ।