बाग्मती

नरहरिनाथको वैचारिक उत्तराधिकारी जरो किलो महाअभियान

१८ फागुन, काठमाडौँ / योगी नरहरिनाथले अनेकौँ सङ्घर्ष गरेर नेपालको धर्म, संस्कृति, शिक्षा तथा राजनीतिमा मौलिकता प्रवद्र्धनका लागि पहल गरेका उनको योगदान भावी पुस्तासम्म लगिनुपर्नेमा जोड दिइएको छ ।
जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा १०७औँ योगी नरहरिनाथ जयन्तीका अवसरमा युगनिर्माण महिला समाजले आज गरेको कार्यक्रममा नेपालको पुनःजागरणका संवाहक योगी नरहरिनाथले पु¥याएको योगदानका बारेमा स्मरण गरिएको थियो ।
जरो किलो महाअभियानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले कालीकोट जिल्लामा जन्मीएका योगी नरहरिनाथलगायत नेपालको पुनर्जागरणको चेतना भएका अग्रजले शुरु गर्नुभएको परिकल्पनालाई निष्कर्षमा पु¥याउन जरो किलो महाअभियानको स्थापना भएको बताए ।
योगी नरहरिनाथसहित पृथ्वीनारायण शाह, मोतीराम भट्ट, शुक्रराज शास्त्री, लक्ष्मीप्रसाद देवकोटा, स्वामी विशुद्धदेव, नयराज पन्त, सिद्धिचरण श्रेष्ठलगायतका अन्य धेरै महान् आत्माको चिन्तनको जगमा रहेर गरिएको अनुसन्धान, अनुष्ठान र साधनाको फल स्वरुप सहृदयता दर्शन, आधारशिला चतुष्टय, राज्यराष्ट्र सिद्धान्त र स्थितिगत्यात्मक प्रगतिवादको निर्माण भएको जरो किलो महाअभियानले जनाएको छ ।
सहृदयता समाज नेपालका अध्यक्ष बलराम प्रजापति, सनातन धर्म महासङ्घका महासचिव अभिषेक जोशी, प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीरामप्रसाद पोखरेलले नेपालमा शिक्षा प्रणालीमा खोट रहेको कारण विदेशी विचारक तथा अभियन्तालाई मात्र मान्ने र पुज्ने तर आफ्ना महान् गुरुहरुलाई उपेक्षा गर्ने नागरिक तयार भइरहेकोमा चिन्ता व्यक्त गरे ।
मातृभाषामा शिक्षा दिएर नेपालको मौलिक विविधताको संरक्षण र प्रवद्र्धनमा योगीजीले जोड दिएको उनहरुको भनाइ थियो । महिला समाज सदस्य सुनिता डाँगीले मौलिक ज्ञान परम्पराको उजागर गरी लैङ्गिक समानताको लागि योगी नरहरिनाथले दिएको मार्गदर्शन मननीय भएको बताए ।
मौलिक जरो किलो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलले योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दिव्यउपदेश प्रकाशन गरेर जनजनमा राष्ट्रिय एकताको सन्देश पु¥याएको स्मरण गरे ।