राजनीति

गोलचक्करबाट मुक्ति नमिलेसम्म नेपालको कहिल्यै समृद्धि हुँदैनः राजेन्द्र महतो

१८ फागुन, कैलाली । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।

जसपाले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नुको विकल्प नरहेको बताए । “यो गोलचक्करबाट नेपाललाई मुक्ति चाहिन्छ”, उनले भने, “जबसम्म गोलचक्करबाट नेपाललाई मुक्ति मिल्दैन तबसम्म नेपालको कहिल्यै समृद्धि हुन सक्दैन र कहिले पनि नेपाली जनता अधिकार र पहिचान पाउन सक्दैनन् ।”
वरिष्ठ नेता महतोले संविधान र शासन पटक पटक परिवर्तन हुने तर विचार र व्यवहार चाहिँ परिवर्तन नहुनुले नै देशमा समस्या निम्तिएको बताउँदै कुर्सी र स्वार्थका लागि मुलुकमा पटक पटक राष्ट्रघात काम भएको आरोप लगाए । उनले जनता समाजवादी पार्टी नै यो देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने र त्यसले देशको विधमान समस्यालाई समाधान गर्ने बताए ।
मुलुकको परराष्ट्र नीति कस्तो हुनुपर्दछ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले परराष्ट्र नीति कुनै पार्टी वा व्यक्तिको नभई देशको हितमा हुनुपर्ने उल्लेख गरे ।