प्रदेश 1

दिप्रुङ चुइचुम्माका विद्यालयमा दिवा खाजा कार्यक्रम

१८ फागुन, खोटाङ / दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दिवा खाजा कार्यक्रम शुरु गरेको छ । सात वडा रहेको उक्त गाउँपालिकाभित्र पर्ने सबै ४८ वटा विद्यालयका बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ५४ विद्यार्थीलाई खाजा उपलब्ध गराउने गरी सो कार्यक्रम शुरु गरिएको हो ।
खाजा अभावकै कारण विद्यालय छाड्न बाध्य विद्यार्थीलाई लक्ष्य गरेर शिक्षा तथा प्रविधि मन्त्रालयबाट प्राप्त भएको सःशर्त अनुदानबाट विद्यालयमा सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “दिवा खाजाको व्यवस्थापनका लागि शिक्षा तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष गाउँपालिकालाई रु ८४ लाख २४ हजार बजेट उपलब्ध गराएको छ”, उनले भने, “प्राप्त बजेटबाट वर्षमा १८० दिन खाजा खर्चबापत दैनिक जनही १५ का दरले विद्यार्थीलाई रकम उपलब्ध गराउने गरी कार्यक्रम शुरु गरिएको हो ।”
चार वर्षदेखि ९ वर्ष उमेर समूहका विद्यार्थीलाई विश्व खाद्य सङ्गठनले निर्धारण गरेको मापदण्डका आधारमा दैनिक आवश्यक क्यालोरी, भिटामिन, प्रोटिन, आयोडिन, आइरनजस्ता पोषकतत्वको मात्रा उपलब्ध गराउने गरी खाजाको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । दिवा खाजामा बिस्कुट, चाउचाउजस्ता जङ्कफुडजन्य खाद्य पदार्थ भने प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ ।
सुक्ष्म पोषकतत्वतर्फ दैनिक १२० आयोडिन आवश्यक पर्नेमा दिवा खाजाबाट ३६ आपूर्ति गराउने, दैनिक १७।८ आइरन आवश्यक पर्नेमा दिवा खाजाबाट ५.४ आपूर्ति गराउने, दैनिक ११।२ जिङ्क आवश्यकपर्नेमा दिवा खाजाबाट ३.४ आपूर्ति गराउने, दैनिक ३३ भिटामिन ‘ए’ आवश्यक पर्नेमा दिवा खाजाबाट ११ र दैनिक १२ भिटामिन ‘बी’ आवश्यक पर्नेमा दिवा खाजाबाट ४.१ पोषकतत्वको मात्रा पूरा हुने किसिमका खाजा उपलब्ध गराउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिव्यक्ति दैनिक १५ का दरले नगद पाउने विद्यार्थीले बिदाको दिनको भने दिवा खाजाबापतको रकम पाउने छैनन् ।
यसअघि रावाबेँसी गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको थियो । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि दिवा खाजा कार्यक्रमलाई लागू गर्ने तयारी गरिरहेका छन् । जिल्लाका कतिपय स्थानीय तहले भने टिफिन क्यारी खाजा बोक्ने भाँडा मात्र उपलब्ध गराएका छन् । स्थानीय तहले उपलब्ध गराएको खाजा तथा खाजा बोक्ने भाँडासमेत निःशुल्क पाएपछि विद्यार्थी हर्षित छन् ।

करेन्ट र विष प्रयोग रोक्न माग

जनता समाजवादी पार्टी खोटाङले गठन गरेको सुरक्षा दलले माछा मार्नेक्रममा स्थानीय खोलामा विष लगाउने, करेन्ट लगाउने र ब्लाष्टिङ गर्नेलगायतका गतिविधिलाई रोक सम्बन्धित पक्षलाई लगाउन आग्रह गरेको छ । विष, करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र कतिपय अवस्थामा करेन्ट लाग्दा मान्छेको ज्यान नै जाने गरेको उदाहरण प्रस्तुत गर्दै सुरक्षा दलले पर्यावरणको संरक्षण गर्दै माछाबाट आर्थिक उपार्जनमा टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षाकर्मीको ध्यानाकर्षण गराएको हो ।
जिल्लाको रावाखोला, साप्सुखोला, बुवाँखोला, टुवाखोला, सावाखोला तथा अन्य साना खोलाखोल्सीमा भएका माछालाई जैविक विविधतामा असर नपुग्नेगरी उचित समयमा सही विधि अपनाएर मार्ने र आर्थिक आयआर्जनमा टेवा पुग्नेगरी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुरक्षा दलका संयोजक टीकाराम राईले बताए ।
स्वादिलो र सबैको रोजाइँमा पर्ने असला जस्ता माछालाई जिल्लाकै बलियो आयस्रोतको माध्यम बनाउन तथा पर्यटकीय आकर्षणको रुपमा पनि विकास गर्न सकिने संयोजक राईले बताए । गत पुस २५ गते गठन गरिएको १०१ सदस्यीय सुरक्षा दलले पर्यवरणको संरक्षण गर्दै खोलाको माछा मार्ने उपयुक्त विधि अवलम्बन गर्न जिल्लास्तर र पालिकास्तरमा सचेतनामूलक कार्यशालाको आवश्यकता औँल्याएका छन् ।
जिल्लाका कतिपय स्थानीय तहले असला माछा मार्न रोक लगाए पनि करेन्ट तथा विष प्रयोग गरेर मार्ने गरेका छन् । केपिलासगढी गाउँपालिकाले करेन्ट तथा विष लगाएर माछा मारेको जानकारी दिने व्यक्तिलाई पुरस्कार दिनेसमेत घोषणा गरेको छ ।
यद्यपि, स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम जारी नै रहेको स्थानीय बासिन्दाले बताएका छन् । करेन्ट लगाएर माछा मार्नेक्रममा यही फागुन १२ सकेला गाउँपालिका–४ मात्तिमका ३७ वर्षीय नीरकुमार राईको मृत्यु भएको थियो ।

स्वास्थ्य शिविरबाट दुई हजार लाभान्वित

जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा जिल्लाका चार स्थानीय तहको पाँच स्थानमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्यशिविरमा विभिन्न प्रकारका दुई हजार २९४ जना बिरामीले आफ्नै गाउँमा निःशुल्क सेवा पाएका छन् । कोरोना महामारीपछिको लकडाउनले सहज उपचार गर्न नपाउँदा समस्या झेलिरहेका सर्वसाधारणलाई गाउँ–ठाउँमै स्वास्थ्य सेवा दिने लक्ष्यसाथ आयोजना गरिएको शिविरमा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका बिरामी लाभान्वित भएका छन् ।
ऐसेलुखर्क, केपिलासगढी र रावाबेँसी गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको दुई ठाउँमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । जनसेवा समाजद्धारा सञ्चालित कोरोना सहायता परियोजना र जनसेवा सामुदायिक अस्पतालको आयोजनामा गत फागुन ५ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबाट शुरु गरिएको निःशुल्क स्वास्थ्य शिविर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पुगेर टुङ्गिएको छ ।
पाथेकामा आयोजना गरिएको शिविरमा ५८०, ऐसेलुखर्कमा ४७७, केपिलासगढी गाउँपालिकाको बाक्सिलामा ४५३, जालपामा ४०३ र रावाबेँसी गाउँपालिकाको हरमटारमा आयोजना गरिएको शिविरमा ३८१ सर्वसाधारणले स्वास्थ्य सेवा पाएका छन् । शिविरमा उपचार गरिएका कुल ४१३ दाँतका बिरामीमध्ये २३७ को दाँत उखालिएको, १९७ को सुगर तथा ८६ को पिसाब परीक्षण गरिएको जालपा सामुदायिक अस्पतालका प्रमुख डा। नेहा बजिमयले बताए ।
यस्तै, २८७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको, मोतियाबिन्दु भएका १२६ बिरामी पहिचान गरिएको, ३०९ महिलाको स्त्रीरोग परीक्षण गरिएको, ९३ जनाको पाठेघरको नमूना सङ्कलन गरी ल्याब परीक्षणका लागि काठमाडौँ पठाइएको, १२ जनाको रिङ प्रेसरी राखिएको, १७७ बालबालिकाको बालरोग सम्बन्धी जाँच गरिएको छ । शिविरमा पत्थरी, गर्भवती, तल्लोपेटको समस्या भएका ३१६ को भिडियो एक्स–रे गरिएको परियोजनाका कार्यक्रम संयोजक उमेत राईले बताए ।
स्वास्थ्य सेवाका लागि घण्टौँ हिँडेर शिबिरमा आएका विरामीलाई ९ लाख रुपैयाँभन्दा बढीको औषधि निःशुल्क वितरण गरिएको छ । आँखाका समस्या भएका ज्येष्ठ नागरिक, विपन्न, महिला, दलितलाई भने सम्वन्धित स्थानीय तहले नै निःशुल्क चस्मा प्रदान गरेको थियो ।
६० वर्षभन्दा माथिका आँखाका बिरामीलाई चस्मा आवश्यक परेमा निःशुल्क उपलब्ध गराउने सम्बन्धित स्थानीय तहका प्रमुखले प्रतिवद्धता जनाएका छन् । कोरोना महामारीका कारण सहज उपचार गर्न नसकिरहेका बिरामी आफ्नै गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा हर्षित भएका छन् । २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपङ्ग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्यसाथ शिविरको आयोजना गरिएको जनाइएको छ । जनसेवा सामुदायिक अस्पतालमा विशेषज्ञसहितको स्वास्थ्य सेवा चौबीसै घण्टा उपलब्ध रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताएका छन् ।