प्रदेश 1

ताप्लेजुङ दोभान बजारमा आगलागीः ३५ घर जलेर नष्ट, विस्तृत बिवरण आउन बाँकी

फुङलिङ, १८ फागुन । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।

आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताएका छन् । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ ।

उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौंँ ।”ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिएका छन् ।

उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिएका छन् ।