प्रदेश 1

प्रधानमन्त्री ओली आज झापा जाँदैः क्यान्सर अस्पतालको उद्घाटन गर्ने

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि मोरङ जाँदै छन् । आज दिउँसो उनी मोरङको उर्लाबारी हुँदै झापासम्म पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ ।

मोरङको उर्लाबारीमा प्रधानमन्त्री ओलीले एकिकृत सन्थाल बस्तीको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि उनी सोझै झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे यति एयरलाइन्समार्फत विराटनगर जाने भएका हुन् ।

हिजो उनी पोखरा पुगेका थिए । आज फेरि मोरङ हुँदै झापा पुग्न लागेका हुन् । प्रधानमन्त्री ओली बिर्तामोडमा निर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न झापा पनि पुग्दैछन् ।

प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्री ओली शिलान्यास कार्यक्रममा केन्द्रित हुन थालेका छन् ।