अन्तर्राष्ट्रिय

जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

सोल, १८ फागुन । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताएको समाचारमा उल्लेख गरिएको छ ।

‘‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरु यो वार्ताबाट हट्न सक्नेछ’’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भने ।

दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँले राष्ट्रिय टेलिभिजनबाट गरेको सम्बोधनका क्रममा सो धारणा राखेका हुन् । आजकै दिन कोरियाली प्रायःद्वीप जापानी उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

राष्ट्रपति मुन जाय-इनले भने- मलाई यति विश्वास छ कि हामी दुवै देशले वार्ताको टेबलमा बसेर हाम्रा अनेक समस्याको समाधानमा प्रयास गर्यौँ भने आपसका हाम्रा असमझदारीहरु हट्नेछन् र हामी हरेक समस्याको समाधानका लागि तयार हुनेछौँ ।

दक्षिण कोरिया र जापानबीचको सम्बन्ध विगतका केही मुद्दाहरुका कारण राम्रो हुन सकेको छैन । जापानले कोरियाली महिलाहरुलाई यौनदाशीका रुपमा राख्नुका साथै अरु पनि केही ऐतिहासिक र व्यापारिक मुद्दाका कारण विगतदेखि नै यी दुई देशबीचमा असमझदारीहरु बढ्दै आएको छ ।

यी विषयहरुमा समय समयमा दक्षिण कोरिया र जापानले वार्ताका माध्यमबाट नै समस्या समाधानका प्रयास गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन ।

पछिल्ला केही वर्षयता यी दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ । त्यसैले दक्षिण कोरियाली राष्ट्रपति मुनले यो आह्वान गरेका हुन् ।