राजनीति

तत्काल काँग्रेस बैठक बोलाउन मागसहित नेता आचार्यले सभापति देउवालाई लेखे चिठी

१७ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्वअर्थमन्त्री महेश आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । नेता आचार्यले २३ गते संसद अधिवेशन आह्वान भईसकेको र संसद पुनस्थापना गर्न आन्दोलनमा सहभागी हुनेलाई धन्यबाद दिनसमेत आवश्यक भएकोले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् । केन्द्रीय समिति बैठक बोलाएर पार्टीको आगामी रणनीति तय गर्नुपर्ने भएपनि उक्त कार्यका लागि प्रकृया नै अगाडी नबढाएको भन्दै नेता आचार्य रुष्ट हुँदै उक्त आग्रह गरेको देखिन्छ । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,

आदरणीय सभापतिज्यु,
असंवैधानिक तवरले सम्माननीय प्रधानमन्त्री ओली द्वारा विधटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णय वर्तमान संविधानको कार्यान्वयनको चरणको सर्वाधिक महत्वपुर्ण र दुरगामी प्रभाव पार्ने संवैधानिक ( राजनीतिक घटना हो।यस्तो घटनाको समग्र पक्षको समीक्षा र देशको वर्तमान परिस्थितिका बारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नडाकिनु गंभीर त्रुटि हुन पुगेको छ।
नेपाली कांग्रेसको आव्हानमा सडकमा आएर विरोध सभा र प्रदर्शन गर्ने लाखोें जनता प्रति र आफ्नै पार्टीका साथी प्रति धन्यवाद व्यक्त गर्न पनि कार्यसमितिको वैठक बस्नु पर्ने हो।
यसबाहेक सर्वोच्चको निर्णय अनुसार अबको एक साता नबित्दै प्रतिनिधि सभाको बैठक समेत बस्ने हुँदा संसदमा पार्टीले निर्वाह गर्ने भुमिकाका बारेमा केन्द्रीय समितिमा छलफल र निर्णय हुन ढिलो भैसकेको छ।राष्ट्र, संविधान र संसदीय प्रणाली संग सम्बन्धित यति ठुलो घटनामा हाम्रो पार्टी प्रतिक्रिया र योजना विहीन देखिनु र अहिलेको संवैधानिक र संसदीय जटिलतालाई समाधान गर्ने अग्रसरता लिन नसक्नु दुर्भाग्यपुर्ण हुनेछ।
अतस् अविलम्ब केन्द्रीय समितिको बैठक बोलाउन अनुरोध गर्दछु।
१७ फागुन २०७७