पु.समाचार

यो वर्षको प्रि-मनसुन सिजन आजदेखी सुरुः मेघगर्जन/चट्याङ/हावाहुरी र असिना-पानीको सम्भावना

१७ फागुन, काठमाडौं । यो वर्षको जाडो याम अर्थात् विन्टर सिजन आजदेखि समाप्त भई प्रि-मनसुन सिजन सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि-मनसुन बुलेटिन जारी गर्दै आजदेखि विन्टर सिजन अन्त्य भएको जनाएको हो ।

गर्मी याममा अपराह्न र साँझ पख मेघगर्जन र चट्याङको सम्भावना रहनुको साथै हावाहुरी र असिना-पानीको सम्भावना रहने महाशाखाले जनाएको छ । यस्तो मौसममा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना-पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यस्तै आज समान्यतया मौसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले समान्यतया सफा रहने भएको हो ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै, राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १० दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो २७ देखि २९ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ।