आर्थिक

नर्सरीबाट वार्षिक २० लाख आम्दानी

गलेश्वर, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफलभएका हुन् ।

जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिनिएका उनले दुई टनेलमा ४० हजार टिमुरको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा राखेका छन् । त्यसैगरी घरमै नर्सरी स्थापना गरेर आयुर्वेदिक औषधिका लागि प्रयोग गरिने बहुमूल्य जडीबुटी सतुवाका बिरुवा पनि उत्पादन गरेका छन् । उनले टिमुरका बिरुवा, फल र सतुवाका बिरुवा बेचेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी हुने जानकारी दिएका छन् ।

सतुवाका बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउनेको घुइँचो लाग्न थालेको उनले बताए । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीलाई प्राथमिकतामा राखेर तीन रोपनी जमिनमा बिरुवासमेत लगाएका छन् । उनले पहिलो वर्ष ग्रीन हाउस निर्माण, जग्गाको माटो परीक्षण गरी बाहिरी जिल्लाबाट सतुवा ल्याएर लगाएका थिए ।

“इन्टरनेटको प्रयोग गरी धेरै ज्ञान सिके, सीप भए सतुवाबाट राम्रो कमाइ हुने रहेछ”,कृषक बानियाँले भने । उनले समूहमा आउनेलाई  ३५ र व्यक्तिगतरुपमा आउनेलाई प्रतिबिरुवा रु ५० का दरले सतुवाका बिरुवा बिक्री गरेको जानकारी दिएका छन् । अनुकूल हावापानी हुने र बाँझो जमिनमा सतुवा खेती गर्ने गरिएको छ ।

गत वर्ष करिब रु १५ लाख बराबरको सतुवा र टिमुरका बिरुवा बिक्री गरेका उनले यस वर्ष त्योभन्दा बढी आम्दानी हुने आशा गरेको बताए । “राम्रो आम्दानी हुने टिमुरसँगै सतुवा खेतीतर्फ लागेको छु, यस वर्ष रसुवाबाट अर्डर आएको छ”, उनले भने ।

निजी र सामुदायिक संस्थामार्फत सतुवा खेतीका लागि बिरुवा माग्ने गरेको उनको भनाइ छ । समुद्री सतहदेखि एक हजार ५०० मिटरमाथि उचाइसम्म सतुवा खेतीका लागि उपयुक्त हुने भएकाले तोरीपानी आसपासका क्षेत्र सतुवाका लागि उपयुक्त हावापानी, माटो भएकाले सोचेजस्तो आम्दानी भएको कृषक उनको भनाइ छ ।

उनले हरेक वर्ष रु छ लाखभन्दा बढीको टिमुरको बिरुवा र टिमुर बिक्री गर्ने गरेको जानकारी दिएका छन् । एक वर्षमै ४० पाथी टिमुर घरबाटै बेच्ने गरेका उनको खेतबारीमा रहेको बोटमा नफल्दै स्वदेश तथा विदेशबाट बुकिङ हुने गरेको जानकारी बताए ।

मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिको रूपमा प्रयोग गरिने भएकाले पनि टिमुरको बजार एशियाली र युरोपेली मुलुकमा समेत अत्याधिक माग रहेको छ ।

टिमुरपछि उनि पछिल्लो समय सतुवा खेतीतर्फ आकर्षित भएका छन् । उनले तीन वर्ष अगाडि इलामबाट एक लाख ११ हजारको एक केजी सतुवाको बीउ लिएर शुरु गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक सतुवा खेतीमा लागेका हुन् । टनेलमा सतुवाको नर्सरी बनाएका बानियाँ जिल्लामा सतुवाको व्यावसायिक बिरुवा उत्पादन गर्ने पहिलो कृषक छन् । उनका अनुसार बजारमा सतुवाको माग र मूल्य टिमुरको जस्तै उच्च छ ।

सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । वनजङ्गलमा पाइने सतुवाको आधुनिक खेतीलाई समुदायमा एकल वा सामूहिकरुपमा करिब १० रोपनी जमिनमा अब छिट्टै खेती गर्ने योजना रहेको कृषक बानियाँले जानकारी दिएका छन् ।