पु.समाचार

ट्राफिक प्रहरी महाशाखाद्वारा अठार ट्राफिक प्रहरी सम्मानित

१६ फागुन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कुशल जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षकसहित १८ ट्राफिक प्रहरीलाई सम्मान गरेको छ ।
महाशाखाले आज कार्यक्रमकाबीच सम्मानित नगदसहित वृत्ति विकासमा सहयोग हुने गरी अभिलेखमा जनाइने गरी पुरस्कृत गरिएको हो । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षराशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्न दिएको निर्देशन पालना गरेवापत् उहाँहरुलाई सम्मान गरिउको जनाए ।
ट्राफिक नियम उल्लङ्घन गर्ने चालकले कारवाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गरेको उनको भनाइ छ । प्रलोभनमा नपरी त्यस्ता चालकलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको उनले बताए ।
चालू आवमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवं प्रशंसापत्रद्वारा सम्मान गरेको छ ।