बाग्मती

उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण हुँदै

१६ फागुन, काठमाडौँ / शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको उक्त बस्ती निर्माणका लागि मन्त्रालयले गुरुयोजना तयार गरिसकेको छ ।
यही फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो बस्ती शिलान्यास गर्ने कार्यक्रम छ । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा रु ३० करोड लागतमा १३२ घर निर्माण हुने सो बस्ती बनेपछि नगरपालिकाका १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएक र २७ परिवार सन्थाल जाति प्रत्यक्ष लाभान्वित हुनेछन् । अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ ।
समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी गुरुयोजनाको डिजाइन गरिएको हो । शहरी विकासमन्त्री प्रभु साहले पद सम्हालेको दुई महिनामै यो दोस्रो ठूलो परियोजनाको शिलान्यास हुन लागेको हो । यसअघि गत माघ १७ गते प्रधानमन्त्री ओलीले चितवनको भरतपुरमा महानगर सिटी हलको शिलान्यास गरेका थिए ।