सुदूरपश्चिम

वर्षौंदेखि सुनसान यातायात व्यवस्था कार्यालय

१६ फागुन, डोटी / जिल्लाको दिपायलस्थित राजपुरमा स्थापना गरिएको यातायात व्यवस्था कार्यालय भने वर्षौदेखि सुनसान अवस्थामा रहेको छ । लक्ष्यअनुसारको सेवा प्रवाह तथा कर्मचारी नभएका कारण उक्त कार्यालय स्थापना कालदेखि नै प्रायः सुनसान बन्दै आएको हो । दिपायल सिलगढी नगरपालिका–४ रापजुरमा स्थापना गरिएको उक्त कार्यालय कर्मचारी अभावमा सुनसान जस्तै बनेको छ ।
कार्यालय स्थापना भएको पाँच वर्ष बितिसक्दासमेत कर्मचारी अभावका कारण पूर्णरूपमा कार्यालयको सेवा सञ्चालन हुन नसकेको भन्दै स्थानीयवासी तथा सेवाग्राही आक्रोश बन्दै गएका छन् । उक्त कार्यालयमा हालसम्म पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो । आठौँ तहका कार्यालय प्रमुख रहने दरबन्दीको संरचनाअनुसार स्थापना गरिएको कार्यालयमा गत साउनदेखि कार्यालय प्रमुख नै छैनन् । संरचनाअनुसार आठौँ तहको कार्यालय प्रमुख, छैटौँ तहको अधिकृत एक, पाँचौँ तह एक, चौथो तह एक, मेकानिकल सुपरभाइजर र कार्यालय सहयोगी दुई गरी कूल सात जनाको दरबन्दी रहने कार्यालयमा हाल छैटौँ तहको अधिकृत एक, सहायक पाँचौँ एक, चौथो तह एक र कार्यालय सहयोगी एक गरी जम्मा चार जनामात्रै कर्मचारी रहेको निमित्त कार्यालय प्रमुख चेतराज भट्टले बताए ।
उनले भने, “हामीसँग आवश्यक पर्ने प्राविधिक कर्मचारी छैनन्, प्राविधिक कर्मचारी नहुँदा कसरी कार्यालयले सेवा प्रदान गर्न सक्नु ।” यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको पाँच वर्ष बितिसक्दा पनि यातायात व्यवसायीले सेवा लिन कैलाली जानुपर्ने बाध्यता कायमै रहेको शैलेश्वरी यातायात प्रालीको कार्यालय प्रमुख प्रेम रावलले बताए ।
उनले भने, “दिपायलमा यातायातका कामका सबै सुविधा दिने भनेर अछाम, बाजुरासहित लक्षित गरेर कार्यालय खोलियो तर कर्मचारी पठाएन, हामीले सामान्य कामका लागि पनि कैलाली धाउनु परेको छ, यस्तो नामको कार्यालय खोलेर के काम ।” यातयात व्यवसायीलाई सेवा दिने भन्दै कार्यालय खोलिएको तर गाडीको कागजात रिन्युदेखि अन्य सामान्य काम गर्न पनि कैलाली जानुपर्ने अवस्था आएपछि यातायात व्यवसायी आक्रोसित बनेका हुन् । सवारी दर्ता नवीकरण, नामसारी, सवारी चालक अनुमतिपत्र जारी र नवीकरण गर्न, बाटो इजाजतपत्र जारी र नवीकरण गर्न, यातायात सेवापञ्जीकृत, सवारी जाँचपास, सेती अञ्चल यातायात व्यवस्था कार्यालयबाट जारी भएका चालक अनुमतिपत्र नवीकरण, पट्के बाटो इजाजत, सवारी अनुगमनलगायतका कार्य गर्नका लागि स्थापना गरिएको भए पनि हालसम्म कार्यालयले चालक अनुमतिपत्र नवीकरण, बाटो इजाजत नवीकरण, पट्के बाटो इजाजत, पञ्जीकरणको काम पनि शुरु गरेको छैन । कार्यालय खोलिए पनि यातायात सेवा कार्यालयबाट प्रदान हुने सेवा लिन सेवाग्राहीले कैलाली जिल्ला जानुपर्ने बाध्यता यथावत् रहँदै आएपछि उक्त कार्यालय पनि अन्तै सानुपर्ने यहाँका स्थानीयवासीको माग रहेको छ ।
त्यस्तै सवारी चालक अनुमतिपत्रका लागि लिइने सीप परीक्षण गर्न र निर्माण गर्न लागिएको ट्रायल सेन्टर निर्माणको काम पनि हालसम्म अधुरै रहेको छ । विसं २०७७ जेठ मसान्तसम्म निर्माण भइसक्ने र असारदेखि सवारी चालक अनुमतिपत्र वितरण गर्ने भन्ने लक्ष्यका साथ निर्माण कार्य भएको सेन्टर तोकिएको समयभन्दा आठ महिना बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन ।
कूल २७ लाख ८१ हजारको लागतमा दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा निर्माण गर्न लागिएको ट्रायल सेन्टरको गत वर्षको चैत महिनामा तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री पठानसिंह बोहराले शिलान्यास गरेका थिए । निर्माण कार्य अधुरै राखिएपछि अहिले उक्त ट्रायल सेन्टर स साना बालबालिकाको क्रिकेट खेल्ने खेल मैदानका रुपमा चिनिँदै आएको छ ।

बाल संरक्षणका लागि अभिमुखीकरण

वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीकोसायल, आदर्श र पूर्वीचौकी गाउँपालिकामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । जिल्लाका तीन स्थानीय तहमा बालसंरक्षणका लागि अवस्था विश्लेषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । प्रत्येक स्थानीय तहमा एक÷एकदिने बालसंरक्षणका लागि स्थानीयस्तरको अवस्था विश्लेषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको वल्र्ड भिजनका प्रतिनिधि गाँगी बलायरले जानकारी दिए ।
एकीकृत संरक्षण तथा सामुदायिक सहभागिता परियोजनाले बालसंरक्षण अवस्था विश्लेषणका लागि अवस्था विश्लेषण कार्यदल निर्माण गरी सो अभिमुखीकरण प्रदान गरेको हो । स्थानीय बालसंरक्षण अवस्था विश्लेषणका लागि अवस्था विश्लेषण कार्यदललाई अभिमुखीकरण प्रदान गरी समुदायस्तरमा बालबाललिका तथा वयष्कसँग समूह केन्द्रित छलफल र सरोकारवालासँग अन्तरवार्ताका माध्यमबाट बालसंरक्षणका प्रमुख सवाल तथा त्यसका कारण पहिचान तथा सवालका मूल कारण न्यूनीकरण गर्न बालबालिकासम्बन्धी क्रियालाप तर्जुमा गर्नका लागि स्थानीय तहलाई