बाग्मती

हेटौँडाका खानेपानी वितरणमा चमत्कारिक परिवर्तन

१६ फागुन, वाग्मती / हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो उत्पादनलाई वृद्धि गरी दैनिक एक करोड ७१ लाख ५० हजार लिटर पु¥याएको छ । बोर्डले पछिल्लो समय दैनिक २७ लाख लिटर पानी वितरण गर्न मिल्ने समवेल समेत शुभारम्भ गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित रामरीमा रहेको नेपाली सेनाको मध्यपृतना, हेडक्वाटरको जग्गामा एक करोड २५ लाख लगानीमा समवेल निर्माण गरिएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । बोर्डले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै भू–भाग र वडा नं १, १४, १५, १६, १७ र १९ का केही भू–भागमा बसोबास गर्ने १८ हजार ६०० घरधुरीका एक लाख ३५ हजार नगरवासीलाई बिहान साँझ गरी दैनिक सरदर छदेखि सात घण्टा पानी वितरण गरिरहेको छ । उनले अठार हजार ५०० धाराबाट दैनिक एक करोड ४१ लाख ५० हजार लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेकामा २७ लाख लिटर थपिएको बताए ।
सेनाले आफ्नो जग्गामा खानेपानीको समवेल निर्माण गर्न दिएर नागरिकमा गुन लगाएको उनले बताए । मध्यपृतनापति उपरथी अशोकराज सिग्देल क्षेत्रीले सेनाको जग्गा आम नेपालीको जग्गा भएकोले खानेपानीको समवेल निर्माणका लागि जग्गा उपलब्ध गराएको जानकारी दिए । समवेलको निर्माणपछि आफ्ना तीन हजार सेनाका जवानलेसमेत पानी खान पाएको उनको भनाइ थियो ।
बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकालले उपमहानगरको खानेपानीको मागलाई सम्बोधन गर्ने जानकारी दिए । उनका अनुसार पछिल्ला केही वर्षदेखि उपमहानगरमा खानेपानीको समस्या छैन । बजार विस्तार हुनेक्रमअनुसार दैनिक तीनदेखि पाँच वटासम्म नयाँ धारा जडान गर्नुपर्ने भएका कारण खानेपानी वितरणको क्षमतालाई वृद्धि गर्नुपर्ने भएको हो । “उपमहानगरपालिका विस्तार भएसँगै थप भएका वडामा खानेपानीको पहँुच पु¥याउनुपर्ने दायित्व बोर्डको रहेको छ । ” उनले भने । बोर्डको निरन्तरको सक्रियताका कारण खानेपानीको चरम अभाव झेलेको हेटौँडामा खानेपानी प्रशस्त हुँदै गएको छ । विगतमा हेटौँडामा खानेपानीको चरम अभाव हुने गरेको थियो । हेटौँडाको खानेपानी कार्यालय अगाडि पानीको माग गर्दै दैनिकजसो आन्दोलन र प्रदर्शन हुन्थ्यो । खानेपानीका कर्मचारीमाथि हातपातका घटनासमेत हुने गरेको थियो । बजारमा कर्मचारीले आफूलाई खानेपानीको कर्मचारीका रुपमा परिचय दिँदैन थिए ।
सुख्खायाममा पानीका स्रोत सुक्नाले पानीको कमी हुन्थ्यो भने वर्षायाममा पानीको झन् ठूलो समस्या हुन्थ्यो । वर्षासँगै आउने भेल खानेपानीको मुहानमा पस्ने र पानी धमिलो हुने समस्याले हेटौँडालाई धेरै सताएको थियो । अहिले अध्यक्ष एवं वरिष्ठ पत्रकार विष्टको नेतृत्वमा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड तथा उपमहानगरको निरन्तर मेहनत, लगनशीलता र इमान्दारीका कारण काकाकुल बनेको हेटौँडालाई पर्याप्त र शुद्ध खानेपानी सेवाको सुविधा सहज भएको हो । खानेपानी संस्थानमार्फत खानेपानी बोर्डलाई हस्तान्तरण भएर आएपछि हेटौँडाको खानेपानी वितरणमा चमत्कारिक परिवर्तन आएको हो ।
बोर्डलाई हस्तान्तरण हुनुअघि हेटौँडामा खानेपानी संस्थानका करीब आठ हजार ग्राहक थिए । कर्मचारी थिए ७० जना बोर्डले धाराको सङ्ख्या बढायो भने कर्मचारीको सङ्ख्या घटायो ।

हेटौँडा खानेपानीको इतिहास

हेटौँडा खानेपानीको इतिहास एउटा कुवाबाट शुरु भएको थियो । खानेपानी बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार यसबेला पानी खानका लागि विभिन्न ठाउँमा कुवा बनाइएका थिए । हेटौँडा–१ स्वर्गलोक, जरुवा टोल, पिप्ले, कर्रा, गर्दोई सानोपोखरालगायतका ठाउँमा स्थानीय व्यक्तिले निर्माण गरेको साधारण कुवा थिए । मानिसले तिनै कुवाका पानीबाट खानेपानीको निर्वाह चलाएका थिए । पछि हेटौँडाको बस्ती विस्तारसँगै हेटौँडा–२ त्रिभुवन राजपथको टुल्के धारा हाल तिरतिरे धारा बाट पाइपका माध्यमबाट पानीको व्यवस्थापन गरिएको थियो ।
सानो बस्तीका रुपमा रहेको हेटौँडा बजारीकरणतर्फ लम्कँदै थियो । बसोबास बढेसँगै बिस्तारै घर बढ्दै गए र मानिसको आवश्यकता पनि बढ्दै गयो ।
हेटौँडा खानेपानी विभागबाट २०२४ सालमा हेटौँडा–२ हरिकुञ्जमा पाँच लाख ४६ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी तत्कालीन हेटौँडाबाट छ किलोमिटर टाढा भैँसे गाउँपञ्चायत हाल भीमफेदी गाउँपालिका वडा नं ७ बुङ्गदोलबाट आठ इञ्चको पाइपबाट पानी ल्याएर हेटौँडावासीलाई पानी खुवाउने कार्यको शुरुआत गरिएको थियो । करीब एक हजार ३०० धारा जडान गरी खानेपानी विभागबाट दिइँदै आएको सेवाको २०४० बाट भने व्यवस्थापन परिवर्तन भई खानेपानी तथा ढल निकास संस्थानबाट यसको व्यवस्थापन हुन गयो । पछि २०४३ सालमा हरिकुञ्जमै पाँच लाख लिटर क्षमताको अर्को ट्याङ्की र कार्यालय भवन निर्माण भयो । साथै हेटौँडा–४ कर्रामा दुई वटा बेल निर्माण भएको थियो । विसं २०४६ मा संस्थाको नाम परिवर्तन गरी नेपाल खानेपानी संस्थान राखी हेटौँडा आम उपभोक्तालाई खानेपानीको सेवा दिइँदै आएको थियो । सेवा क्षेत्र विस्तार गर्ने क्रममा २०५० मा हेटौँडा–८ कमाने र २०५८ मा हेटौँडा–९ लामसुरेका बासिन्दाले सञ्चालन गरेको खानेपानी सेवा प्रणाली यस संस्थानमा गाभियो पछि हेटौँडा विकसित बन्दै र बजार बढ्दै गयो ।
व्यापक जनसङ्ख्या वृद्धि भएपछि खानेपानीको माग पनि अत्यधिक हुँदै गयो । उपभोक्ताको मागअनुरुप नेपाल खानेपानी संस्थानले खानेपानी सङ्कलन, उत्पादन र वितरण गर्न सकेन र हेटौँडामा पानीको समस्या दिनानुदिन बढ्दै जान थाल्यो ।
नगरमा खानेपानी समस्या बढ्दै गएपछि हेटौँडा नगरपालिकाका तत्कालीन प्रमुख डोरमणि पौडेलको पहलमा नगरपालिकाले एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा करीब १९ करोड बराबरको आयोजना सम्पन्न ग¥र्यो । यस योजनाले भने हेटौँडालाई केही राहत दियो यद्यपि हेटौँडाको खानेपानीको माग तीव्र गतिमा वृद्धि हुँदै थियो ।
मधेश आन्दोलनपछि हेटौँडामा बसाइँसराइका कारण खानेपानीको माग दोब्बर भयो । खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३५ ले दिएको अधिकार प्रयोग गरी हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड गठन भयो । बोर्डले २०६४ सालदेखि नै आफ्नो क्रियाकलाप अगाडि बढाउँदै गएको अवस्था थियो । सरकारको निर्णयबमोजिम नेपाल खानेपानी संस्थान हेटौँडा शाखा विधिवत्रुपमा २०७० जेठ ८ गतेका दिन हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तानान्तरण भएको र यसै दिनदेखि बोर्डले विधिवत्रुपमा हेटौँडा नगरक्षेत्रको खानेपानी वितरण प्रणाली सञ्चालन गरेको थियो ।