बाग्मती

बाल सङ्गठनमा पौडेलको नेतृत्व

१६ फागुन, भरतपुर / नेपाल बाल सङ्गठन चितवनको जिल्ला भेला तथा सातौँ अधिवेशनले रविकिरण पौडेलका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मतरूपमा समिति चयन गरेको हो ।
समितिका सदस्यमा हेमा पौडेल, मुकुन्दप्रसाद बिडारी, हरिकृष्ण शर्मा चापागाईँ, रामबाबु श्रेष्ठ, गुरुचन्द्र घिमिरे, प्रतिमा सिलवाल र अमृता भट्टराई छन् । एघार सदस्यीय समितिमा बाँकी दुई जना कार्यसमिति र एक जना केन्द्रीय समितिले मनोनयन गर्ने सभापति पौडेलले जानकारी दिए ।
निर्वाचित समितिका पदाधिकारीलाई बाल सङ्गठन केन्द्रीय समितिका अध्यक्ष विद्या न्यौपानेले पद तथा गोपनीयताको शपथ गराएका थिए । चारवर्षे कार्यकालका लागि निर्वाचित समितिका सभापति पौडेलले चितवनको बाल सङ्गठनले बालबालिकाका क्षेत्रमा परिवर्तन ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

वन पैदावार उद्योग व्यवसायी सङ्घमा श्रेष्ठ

नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ चितवनको नवौँ साधारणसभा एवं छैटौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले देवनारायण श्रेष्ठका अध्यक्षतामामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिका प्रथम उपाध्यक्षमा लीलबहादुर क्षेत्री, द्वितीय उपाध्यक्षमा खिलप्रसाद घिमिरे, सचिवमा तारकबहादुर केसी, सहसचिवमा गङ्गाबहादुर गुरुङ र कोषाध्यक्षमा हेमन्त पराजुली निर्वाचित भएका छन् । यस्तै समितिका सदस्यमा राजु राई, शिवकुमार श्रेष्ठ, रामबहादुर श्रेष्ठ, सुदन श्रेष्ठ र राजु केसी निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा रुद्रहरि भण्डारी तथा सदस्यमा रवीन्द्र आचार्य र प्रेमराज न्यौपाने निर्वाचित भएका छन् ।

३५ को रक्तदान

भरतपुरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लब अफ भरतपुर युथको आयोजनामा बृहत् खुला रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन् । चौबीसकोठीमा आयोजित कार्यक्रममा रक्तदान गरिएको लायन्स क्लब अफ भरतपुर युथका अध्यक्ष लायन सुरजकुमार शर्माले जानकारी दिए । लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो दीपेश ज्ञवालीले रगत अभावलाई परिपूर्ति गर्न समयसमयमा रक्तदान कार्यक्रम गर्ने गरिएको बताए ।