खेलकुद

क्रिकेट खेलमैदान नहुँदा खेल खेलाउन कठिन

१५ फागुन, दमौली । तनहुँमा व्यवस्थित खेलमैदान नहुँदा क्रिकेट खेलाउन कठिनाई हुँदै आएको छ ।

जिल्लाका कुनै पनि स्थानमा व्यवस्थित खेलमैदान नहुँदा पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको क्रिकेट खेलाउन कठिनाइ भएको हो । गत वर्षदेखि दमौलीमा परिवर्तन नेपाल तनहुँ संस्थाले क्रिकेट प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष प्रवीण पौडेलले खेलमैदान नहुँदा समस्या भइरहेको बताए ।

“क्रिकेट खेलतर्फ आकर्षण बढ्दो छ तर खेलमैदान छैन, जसोतसो अहिलेकै खेलमैदानमा खेलिरहेका छौँ”, उनले भने, “व्यवस्थित क्रिकेट खेलमैदान निर्माणतर्फ सरोकारवालाको ध्यान जान आवश्यक छ ।” गत वर्ष व्यास नगरपालिका–३ स्थित बिपी वनवाटिका खेलमैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । “दमौलीमा क्रिकेटको राम्रो सम्भावना छ, तर खेलमैदान छैन”, उनले भने, “जसोतसो युवाहरु खेलिरहेका छन् ।”

दमौलीमा व्यवस्थित मेलमैदान निर्माणका लागि अध्यक्ष पौडेलले व्यास नगरपालिकालाई आग्रह गरे ।

क्रिकेट शुरु

उक्त संस्थाको आयोजनामा आजदेखि व्यास नगरपालिका–५ वेनीपाटनमा क्रिकेट प्रतियोगिता शुरु भएको छ । क्रिकेट खेलको प्रवद्र्धन र खेलाडीलाई हौसला बढाउने उद्देश्यसहित परिवर्तन नेपालले क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

उद्घाटन खेलमा राइवल्स क्लब विजयी भएको छ । राइवल्स र वैरेनीबीच भएको खेलमा राइवल्सका विनय भण्डारीले अर्धशतक गरे । राइवल्सले १७४ रनको लक्ष्य दिएकामा वैरेनी ८५ रनमा अलआउट भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले क्रिकेटले देशलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पु¥याएको उल्लेख गरे । व्यास नगरपालिकामा खेलकूदका गतिविधि बढिरहेकाले यसले नगरपालिकाको सान र मान उच्च बनाएको नगरप्रमुख न्यौपानेले बताए ।

खेल क्षेत्रको विकासका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउँदै उनले व्यास नगर अल्ट्रा म्याराथनको सफलतासँगै नगरपालिकाले महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पाटनमा निर्माणाधीन खेलकूद मैदान लागि पर्याप्त बजेटको अभावमा स्तरोन्नति गर्न नसकिएकाले यसको सुधार आवश्यक रहेको बताए । नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यले खेलकूदले युवालाई स्वस्थ र अनुशासित बन्न सघाउने धारणा व्यक्त गरे।

प्रतियोगितामा विजेतालाई ६० हजार र उपविजेतालाई ३० हजार नगद प्रदान गरिनेछ । साथै म्यान अफ दि म्याच र म्यान अफ दि सिरिजलाई पनि पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा तनहुँका पाँच र काठमाडौँको एक टिमको सहभागिता छ । प्रतियोगिता १९ गतेसम्म सञ्चालन हुनेछ ।

सामुदायिक क्याम्पसमा सरकारको सहयोग अन्यायपूर्ण

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष जगत तिमिल्सनाले सामुदायिक क्याम्पसमा सरकारको सहयोग अन्यायपूर्ण रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा आज आयोजित पब्लिक क्याम्पस सङ्घ तनहुँको बैठकमा उहाँले उच्च शिक्षामा ३३ प्रतिशत विद्यार्थीको भारवहन गरेका सामुदायिक क्याम्पसलाई सरकारले उपेक्षा गरेको बताए । सबै उच्च शिक्षाका सरोकारवालाहरुले सामुदायिक क्याम्पसका पक्षमा बोल्न लेख्न आवश्यक रहेको उनले बताए ।

बैठकमा सङ्घका गण्डकी प्रदेश अध्यक्ष महाप्रसाद हड्खलेले प्रदेशको गतिविधिको जानकारी गराएका थिए । बैठकमा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष/उपाध्यक्ष र प्रमुखहरुले कोरोना माहामारी पछिको क्याम्पस सञ्चालनका आर्थिक, भौतिक र शैक्षिक चुनौतीहरू प्रस्तुत गरेका थिए ।

बैठकले आगामी चैत्र २१ गते जनज्योति क्याम्पस भिमादमा जिल्लाका सामुदायिक क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख र प्राध्यापक सङ्घका एकाइ अध्यक्षको सहभागिता रहने गरी सङ्घको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । साथै वैशाखको पहिलो साता सामुदायिक क्याम्पसमा स्थानीय तहको आर्थिक सहायता वृद्धि गर्न तनहुँका स्थानीय तह प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखको सहभागिता हुने गरी गोष्ठि आयोजना गरिने भएको छ ।