बाग्मती

तीनकुनेको पूर्वी किनारमा ४०७ औँ हप्ताको वाग्मती सफाइ

१५ फागुन, काठमाडौँ / वाग्मती सफाइ महाअभियानको ४०७ औँ हप्तामा सुविधानगर तीनकुनेस्थित नदीको पूर्वी किनारमा सफाइ गरिएको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा प्रमुख सफाइ अभियानकर्मी एवं पूर्वमुख्य सचिव लीलामणि पौड्याल, नेपाली सेना चण्डीदल गण सिंहदरबार, एस ट्राभल्स, मदन भण्डारी स्मृति वाटिका संरक्षण समिति कोटेश्वर, सामुदायिक विकास समिति सुविधानगर, बानेश्वर फोहर व्यवस्थापन सेवा प्रालि, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राध्यापक एवं विद्यार्थी, तीनकुनेका स्थानीयवासी, काठमाडौँ फोहर व्यवस्थापन विभाग टेकु एवं वाग्मती अभियानकर्मीको सक्रियता थियो ।
यसैगरी वाग्मतीको गुह्येश्वरीमाथिको भाग, तिलगङ्गा खण्ड, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी भागलगायत स्थानमा आज सफाइ अभियानलाई निरन्तरता दिइएको छ । पर्यटकीयस्थल कर्णाली प्रदेशको बुलबुले क्षेत्रमा सफाइ शुरु भएको छ । वाग्मती सफाइ अभियानकर्मी चक्रबहाजर चन्दको नेतृत्वमा भएको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेललगायत स्थानीय अभियानकर्मीको सक्रियता थियो ।
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ अभियान शुरु भएको हो । उपत्यका बाहिर पनि मुख्य शहर नदी गरी हाल देशभर १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, झरी, चाडपर्व, भूकम्प, कोरोना महामारीलगायत प्रतिकूल अवस्थामा पनि प्रत्येक हप्ता शनिबार निरन्तर हुँदै आएको छ ।