लुम्बिनी

सिस्नेमा लागेको डढेलो नियन्त्रण बाहिर

१५ फागुन, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका– २ मा दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बिहीबारदेखि शुरुआत भएको डढेलो नियन्त्रण बाहिर गएपछि त्यहाँका दर्जन बढीबस्ती जोखिममा परेका छन् ।

सिस्ने– २ को प्वाङस्थित कुरिपानीबाट शुरु भएको डढेलो आज बिहानसम्म धेरै ठाउँमा फैलिसकेको छ । कुरिपानी सामुदायिक वनबाट सल्किएको आगो कसरी सल्कियो भन्ने पत्ता भने लाग्न सकेको छैन । सिस्ने– २ का वडाध्यक्ष जीवन केसीले विद्यालयबाट फर्कदै गरेका बालबालिकाले आगो लगाएको बताए ।

उक्त डढेलोबाट तीन वटा घर दर्जन बढी गोठ जलेर नष्ट भएको उनले जानकारी दिए । उनका अनुसार डढेलोले दतकुना, कुचिबाङ, गोल्खाडा, सुद्रीलगायतका बस्तीमा आगो फैलिएको छ । डढेलो नियन्त्रणमा इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीय लागि परेका छन् । आगो धेरैतिर फैलिएकाले नियन्त्रणको सम्भावना न्यून छ ।

डढेलोबाट केही घरगोठ जलेर नष्ट भएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । डढेलो नियन्त्रणमा नआएपछि जिल्लासुरक्षा समितिको बैठकसमेत बसेको छ । बैठकले डढेलो नियन्त्रणमा नआएसम्म आआफ्नो सूचनालाई अद्यावधिक गर्ने र क्युआरटी, आइआरटी टोली परिरचालन गर्ने निर्णय गरेको प्रजिअ राईले बताएका छन् । अहिलेसम्म मानवीय क्षति भने भएको छैन । डढेलो नियन्त्रण बाहिर गएपछि नागरिक भने त्रसित छन् ।