बाग्मती

नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

१५ फागुन, सिन्धुली / कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले आज आफ्नो जन्मदिनका अवसरमा ट्रष्ट स्थापना गरेका छन् ।
आफू प्रमुख पदमा निर्वाचित भएपछि प्राप्त भत्ता खुत्रुकेमा जम्मा गर्दै आएका उनले भत्ताको पैसाले ५५औँ जन्मदिनका अवसरमा ट्रष्ट स्थापना गरेका हुन् । उक्त खुत्रुकेमा आजसम्म चार लाख ५७ हजार ७२० जम्मा भएको प्रमुख खत्रीले जानकारी दिए।
उनले उक्त रकमबाट ‘खड्ग शान्ता नवप्रवर्तन ट्रष्ट’ स्थापना गरिएको जानकारी दिए । ट्रष्टको अध्यक्षमा सूर्यबहादुर पाख्रिन, सचिवमा हरि अधिकारी र कोषाध्यक्षमा अम्बिका खत्रीलाई चयन गरिएको छ ।
आफुँ कम्युनिष्टको नेता भएको र सदैव जनताको सेवा गर्नका लागि ट्रष्ट स्थापना गरेको उनले जानकारी दिए । जनताको मायाले यो स्थानसम्म आएको बताउँदै उनले भोलिका दिनमा पनि कुनै पदमा नभए पनि जनताको सेवा गर्नका निमित्त आफूले ट्रष्ट स्थापना गरेको जनाए ।
विसं २०७४ जेठ ५ गते कार्यभार सम्हाल्नुभएका खत्रीले आफूले पाएको भत्ता खुत्रुकेमा जम्मा गरेका थिए । आगामी दिनमा पनि भत्ताको पैसा खुत्रुकेमा जम्मा गर्ने उनले बताए । विकास निर्माणको पैसा भने उक्त ट्रष्टमा नहालिने उनको भनाइ छ ।