बाग्मती

शहर सफा बनाउन चासो

१५ फागुन, काठमाडौँ / काठमाडौँ शहरको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल जीएसजीएस प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालीम प्रफेसनल लर्निङ कोर्स पिएलसि उपलब्ध गराउनेछ । तालीम यही फागुन २१ गतेबाट शुरु हुनेछ । कामपाले सहभागी हुनेको नाम फागुन २० गतेभित्र पठाइसक्नु पर्नेछ ।
तालीम सञ्चालनका क्रममा थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी एआइटीमा एक हप्ताको कक्षामा समेत सहभागी गराइनेछ । तालीम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयबाट एक जना र एआइटीबाट एक जना प्रतिनिधिसहित तीन जनाको समिति रहने छ ।
महानगरले व्यहोर्ने आर्थिक दायित्वअन्तर्गत पहिलो चरणमा सम्झौतापछि ६० प्रतिशत र तीन महिनाको प्रगति प्रतिवेदन प्राप्त भएपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध गराउनेछ । यसरी तालीममा सहभागी भएकाले फोहर वर्गीकरण र व्यवस्थापनबारे विशेष कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने छन् ।
शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र विश्वविद्यालयका तर्फबाट स्कूल अफ इञ्जिनीयरिङ डीन डा डम्बरबहादुर नेपालीले तालीम सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । शैक्षिक प्रतिष्ठानको ज्ञान र सीपको प्रयोग गरेर महानगरका कामलाई विशिष्टीकृत गर्ने क्रममा विश्वविद्यालयसँग सम्झौता भएको कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने ।
“काठमाडौँ महानगरसँगको सम्झौता विश्वविद्यालयका लागि महत्वपूर्ण कामको थालनी हो”, स्कूल अफ इञ्जिनीयरिङ डीन डा नेपालीले भने । पछिल्लो समय शहरको फोहर व्यवस्थापन गर्न थप समस्या हुन थालेको भन्दै कामपाले यस किसिमको प्रक्रिया अघि बढाएको हो ।