प्रवास

दक्षिण कोरियाले देशव्यापी कोरोना खोप सञ्चालनः नेपाली खुशी

१४ फागुन, सउल / दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको सो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका कोरियाली स्वास्थ्यकर्मी तथा नर्सिङहोमका कर्मचारीलाई लगाइने यहाँको स्वास्थ विभागले जनाएको छ ।
पहिलो चरणको कार्यक्रमअन्तर्गत सो खोप कोरियाको एसके बायो–साइन्सले निर्माण गरेको हो । उक्त कम्पनीद्वारा निर्मित १।५७ मिलियन डोज खोप सात लाख ८० हजार व्यक्तिलाई दुईपटक दिन पुग्नेछ । कोरियाले आगामी मार्चको अन्तिमसम्म दुई लाख ८९ हजार स्वास्थ्यकर्मी तथा बिरामीलाई खोपको दुई मात्रा दिने तयारी गरेको छ ।
यससँगै यहाँ रहेका नेपालीमा खुशीको सञ्चार भएको छ । कोरियाले यसअघि नै यहाँ रहेका विदेशीलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने बताइसकेको छ । हरेक वैधानिक तथा अवैधानिक विदेशीले पनि सो खोप प्राप्त गर्नेछन् ।