कृषि

मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

वाग्मती, १४ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले जिल्लाको तरकारी जोनलाई सुपरजोनका रूपमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न बैठकले सो सिफारिस गरेको जनाइएको छ । बैठकले विगत चार वर्षदेखि मकवानपुरमा सञ्चालित तरकारी क्षेत्रको कार्यक्षेत्रमा रहेको थाहा नगरपालिका-१ देखि १२ सम्म ६०० हेक्टर तथा इन्द्रसरोवर गाउँपालिकाको कार्यक्षेत्रमा रहेका ४५० हेक्टर गरी कूल एक हजार ५० हेक्टर क्षेत्रफललाई सुपरजोनका रूपमा सिफारिस गरेको हो ।

सुपरजोनका लागि जिल्ला समन्वय समितिले प्रदेशको कृषि मन्त्रालयमा र प्रदेश मन्त्रालयले केन्द्रमा सिफारिस गरेर निर्धारण हुने बताइएको छ । साथै बैठकले जिल्लामा उत्पादित बालीहरुको प्राथमिकीकरणसमेत तोकेको छ ।

स्थानीय तहका कृषि शाखा तथा प्रतिनिधिबाट प्राप्त तथ्याङ्कका आधारमा जिल्लामा उत्पादन भइरहेका बाली तथा पशु व्यवसायको प्राथमिकीकरण गरिएको उनले बताए ।

बैठकले जिल्लाको स्थानीय तहबाट प्राप्त तथ्याङ्क र विवरणका आधारमा जिल्लामा एक नम्बरमा आलुखेतीलाई प्राथमिकीकरण गरेको छ । त्यस्तै दोस्रोमा मकै, तेस्रोमा बाख्रापालन, चौथौमा धान र पाँचौँमा अदुवा र बेसारखेतीलाई प्राथमिकीकरण गरिएको छ ।

साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र कृषि औद्योगिक क्षेत्र ९सुपरजोन० का रूपमा वर्गीकरण गरी कृषिसम्बन्धी कार्यक्रम सञ्चालन हुने गरेको छ । बैठकले सोहीअनुसार सिफारिस गरेको हो ।

उक्त कार्यक्रममार्फत किसानलाई प्राविधिक, साना सिँचाइ उत्पादन सामग्री र बजार व्यवस्थापमा सहयोग गर्ने अध्यक्ष खुलालले बताए ।

कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

बैठकमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कार्यक्रम उत्तम रहेकाले यसलाई छिटो कार्यावन्यनमा ल्याउनुपर्ने बताए । बैठकमा सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।