पु.समाचार

कांग्रेस पदाधिकारी बैठक आज अपरान्हः सरकार नेतृत्वका लागि निर्णय हुने संकेत

१३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले अपराह्न तीन बजेका लागि बुढानिलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीलाई डाकेको उनको सचिवालयले जनाएको छ ।

आजको बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।

नेकपाको दाहाल-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सरकार सञ्चालनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएका थिए । बुधबार दाहाल र नेपालसँगको भेट र सत्ता समीकरणको प्रस्तावलगत्तै देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रतिनिधिसभा पुनर्स्थापना र नेकपा विभाजनपछि सरकार गठनमा नेपाली कांग्रेस निर्णायक अवस्थामा पुगेको छ । पुस ५ मा भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै यही मंगलबार १३ दिनभित्रै संसद अधिवेशन आह्वान गर्ने आदेश दिएको छ ।

संसद अधिवेशन शुरू भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाकै दाहाल-नेपाल समूहले अविश्वासको प्रस्तावमार्फत हटाउने तयारी गरेको छ । त्यसलगत्तै नयाँ सरकार गठनको प्रकिया शुरू हुनेछ । यस्तै आजको बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।