बाग्मती

मयूरधाप औद्योगिक क्षेत्र शिलान्यास फागुन १४ मा

१२ फागुन, मकवानपुर / हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रलाई यही फागुन १४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको हेटाँैडा औद्योगिक क्षेत्रले जनाएको छ । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो ।
मयूरधापको करीब २०० बिघा क्षेत्रफलको सरकारी जग्गामा सङ्घीय सरकारले मयूरधाप औद्योगिक क्षेत्रलाई छुट्याइएको थियो । मयूरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालयको स्थापना गरिएको बताइएको छ । औद्योगिक क्षेत्रको परिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ । छुट्याइएको सो प्रत्येक प्लटमा क्रमशः ७ देखि १४ रोपनीसम्मको जग्गालाई विभाजन गरिएको बताइएको छ । यसैगरी सो औद्योगिक क्षेत्रमा सङ्घीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २५० रोपनी जग्गा उपलब्ध गराइसकिएको पनि हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए । उनका अनुसार उल्लिखित विस्तृत अध्ययन प्रतिवेदन डिपिआर अनुसारको पूर्वाधार निर्माणका लागि करीब सात अर्ब दुई करोड ३४ लाख रकम सरकारको लगानी हुने भएको जानकारी दिएका छन् । मयूरधाप औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करीब २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने भएको बताइएको छ ।
सङ्घीय सरकारद्वारा हालै सरकारी जग्गा यस औद्योगिक क्षेत्रको नाममा दर्ता गरेर लालपुर्जा तयार गरी जग्गाको स्वामित्व पनि हस्तान्तरण गरिसकिएको र सो जग्गाको चारैतर्फ कम्पाउन्डले घेरिएको हेटौँडा औद्योगिक क्षेत्रका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताए । हेटौँडा बजारबाट दक्षिणतर्फ रहेको मयूरधाप औद्योगिक क्षेत्र करीब पाँच किलोमिटर टाढा रहेको छ ।