आर्थिक

जलविद्युत आयोजनामा लगानीका लागि लक्ष्मी बैंकले गर्यो अगुवाई

११ फागुन, काठमाडौं । माबिलुङ्ग इनर्जी संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंक २ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्न कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेको छ । माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल श्रावण ९ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ ।

माबिलुङ्ग इनर्जी लि. लाई एशियन लाईफ इन्स्योरेन्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष राजेश लाल श्रेष्ठ छन् । बैंकहरुले आयोजना लागतको ७० प्रतिशत (रु.६५ करोड ५९ लाख) र वाँकी ३० प्रतिशत कम्पनीको लगानी रहनेछ । उक्त आयोजनाको लागि सहभागी बैंकहरुले गर्ने आवधिक कर्जा अन्तर्गतको लगानी निम्न बमोजिम रहेको छ ।

लक्ष्मी बैंक लि.को रु.३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंक लि.को २५ करोड ६० लाख रहेको छ । उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९/२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएकाछन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेकोछ ।