आर्थिक

नाग्मा-गमगढी सडक स्तरोन्नतिका लागि बजेट अभाव

तनहुँ, ११ फागुन । बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मा-गमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ । सङ्घीय सरकारले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा नौ करोड ७० लाख विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको हो ।

बजेट सकिएपछि सङ्घीय सरकारले दोस्रो चरणमा  पाँच करोड छुट्याएको थियो । उक्त रकम पनि सकिएपछि निर्माणको काम ठप्प भएको हो । “लागत अनुमानअनुसार काम भएको छैन”, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला भण्डारीले भने, “बजेट सकिएपछि ग्राभेल र ढल निकासको काम अधुरै छ ।” बजेट अभावले ठेकेदारलाई रु १२ करोड भुक्तानी गर्न समस्या भएको डिभिजन प्रमुख भण्डारीले बताए ।

सो सडकखण्डको ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणका लागि  २० करोड आवश्यक रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

३४ किलोमिटरमा ग्राभेल

चालु आवमा गमगढी-नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ । बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको प्रमुख भण्डारीले बताए । मुगुको गमगढीबाट कालिकोटको नाग्मासम्मको सडक स्तरोन्नतिको कामको जिम्मा हिम्दुङ र थोकेर, हिरा र नमिता खड्का, कृष्ण र गाल्वा बानियाँ तथा शङ्कर निर्माण सेवाले लिएका छन् । चालु आवभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावमा समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

१० ठाउँमा आरसिसी पुल

चालु आवमा सडकको १० ठाउँमा आरसिसी पुल निर्माणका लागि ठेक्का प्रक्रिया शुरु गर्न लागिएको छ । सडक डिभिजन कार्यालयका अनुसार नाग्मा-गमगढी हुँदै तिब्बतको नाक्चेनाङ्लासम्मको सडकमा पुल निर्माण गर्न लागिएको हो ।

यसका लागि  ८० करोड आवश्यक पर्ने डिभिजन प्रमुख भण्डारीले बताए । सो सडक कालोपत्र गर्न सङ्घीय सरकारसँग तीन अर्ब बजेट माग गरिएको छ । सडकमा यातायातका साधन चल्न शुरु भएको नाग्मा-गमगढी सडक नौ वर्षपछि सरकारले स्तरोन्नतिको काम शुरु गरेको थियो । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा स्थानीयवासी र रारा आउने पर्यटकले लामो समयदेखि सास्ती भोगिरहेको स्थानीयवासी पदम महतले बताए ।