राजनीति

हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन्ः रवीन्द्र मिश्र

१० फाल्गुन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेर बहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौँको शान्ति वाटिकामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै भ्रष्ट ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताएका हुन् । उनले भने, बालुवाटारबाट बालकोट जाने नेतालाई हामी सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गर्छौँ, त्यसपछि आराम गर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्‍याउँछौँ । उनले थपे, नख्खु जेलको चौरमा जिन्दगीभर उहाँहरूले आराम गरेर बिताउनुहुनेछ ।
आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेन्डामा अग्रणी रहेको भन्दै आफूहरू ठुला कुरा गर्न नहिचकिचाउने बताए । दलहरूले न्यायालयमा समेत भागबन्डा गरेकाले सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै अध्यक्ष मिश्रले न्यायालयमाथि नै कालो पोतिएको बताए । राज्यका हरेक निकायहरू पार्टीका भागबन्डा मै गाँजिएकाले देशले दुख पाएको बताउँदै अध्यक्ष मिश्रले समतामूलक समृद्धिको लागि नागरिकले पनि मन र मत परिवर्तन गर्नुपर्नेमा जोड लिए ।