बाग्मती

उद्यमीको हात, प्रदेश सरकारको साथ

 १० फागुन, वाग्मती / वाग्मती प्रदेशले आर्थिक संवृद्धिका लागि उद्योगको विकास एवं संरक्षणमा जोड दिएको छ । उद्योगको विकास भएमा रोजगारीका साथै आर्थिक विकासमा सहयोग हुने विश्वास लिइएको छ । यसका लागि प्रदेशले उद्योगमा लगानी गर्न वातावरण बनाउन विभिन्न कार्यक्रम ल्याएको छ ।
गत एक वर्षका अवधिमा घरेलु तथा साना उद्योग क्षेत्रमा रु २४ अर्ब १८ करोड लगानीसमेत भएको छ । सोही अवधिमा दुई हजार ३९५ उद्यमी थपिएको बताइएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योद्वारा एक वर्षको अवधिमा २४ अर्ब भन्दा बढीको लगानी भएको छ ।
विगत तीन वर्षका अवधिमा एक लाख ४० हजार २९५ साना घरेलु उद्योग दर्ता भएको मन्त्रालयको सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । सो अवधिमा १२ हजार ३२३ नयाँ वाणिज्य फर्म पनि दर्ता पनि भएको छ ।
‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ भन्ने सोचका साथ बेरोजगार युवा तथा विदेशबाट फर्किएका जनशक्तिलाई लक्ष्यित गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालित छ । कार्यक्रम अन्तर्गत एक हजार २९ प्रविधि हस्तान्तरण भएको उनले जानकारी दिए ।
चौध साझा सुविधा केन्द्र तथा २१ बजार घर तथा बहुकृषि उपज केन्द्र स्थापना भएको छ । ‘एक निर्वाचन क्षेत्र, एक उद्योगग्राम’ कार्यक्रम अन्तर्गत पाँच स्थानमा उद्योगग्राम निर्माण प्रक्रिया शुरुआत भएको छ ।
दश स्थानको वातावणीय अध्ययन सम्पन्न भएको मन्त्रालयले जनाएको छ । सिन्धुलीको हरिहरपुरगढीमा तीन हजार ६०० रोपनी जमीनमा प्रदेश औद्यौगिक क्षेत्र निर्माण शुरुआत गरेको छ ।
शहरी क्षेत्रमा ‘एक घर, दुई बिरुवा’ र ‘सबै स्थानीय तहमा एक वडा एक बगैँचा’ अभियान कार्यक्रम अन्तर्गत शहरी क्षेत्रको सडक र नदी किनार क्षेत्रमा वृक्षरोपणसमेत गरिएको बताइएको छ । साथै उक्त मन्त्रालयले ४५ महत्वपूर्ण पदमार्गसमेत निर्माण गरेको छ ।
प्रदेशभरी करीब ४३ किलोमिटर पर्यटनमैत्री पदमार्ग निर्माण भएको बताइएको छ । हटौँडाको मयुर धापमा नयाँ औद्यौगिक क्षेत्र स्थापनाको कार्य पनि अगाडि बढाइएको हेटौँडा औद्योथिक क्षेत्र व्यवस्थापनको कार्यालयका प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए । उद्योग खालेर मात्र हुँदैन यसको दिगो सञ्चालन र व्यवस्थापल आवश्यक रहेको काष्ट उद्योगी रामपुकार ठाकुरले बताए ।