प्रदेश 1

बाँस बिक्रीबाट मनग्य आम्दानी

१० फागुन, विराटनगर / लगनशील भई काम गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै ठूलो हुने उदाहरण बाँस बिक्रेताबाट देखिएको छ । विराटनगर–११ केशलीया नदी सडक छेउमा विगत ३० वर्षदेखि बाँस बेच्दै आउनुभएका जुगल मण्डलले सो कुराको पुष्टि गरेको छन् । उनले मेहनत र लगनशील भएर काम गर्दा परिवारको पालनपोषण र मासिकरुपमा राम्रो आम्दानी गर्न सफल हुने बताए ।
बाँसको आवश्यकता जन्मदेखि मृत्युसम्म हुने गर्दछ । घरायसी कार्यका लागि बाँस नभई नहुने भएकाले यसको बजार विस्तृत रहेको छ । घर निर्माण, पूजापाठ, मृत्यु वा घरयासी कामका लागिसमेत बाँसबाट बनेका धेरै प्रकारका सामग्री आवश्यक पर्ने गरेको छ । त्यसैले यसको बिक्री ज्यादै हुने गरेको बाँस व्यापारीको भनाइ छ ।
बाँसबाट बनेका सामग्री नाङ्लो, घरेलु सामान राख्ने ढकी, जुत्ता राख्ने ¥याक, तराईको ठूलो चाँड छठमा आवश्यकपर्ने कुनियालगायतका सामग्री निर्माण गर्ने गरिन्छ । अहिले विभिन्न नगर क्षेत्रका रेष्टुरेण्ट, होटलमा ग्राहकलाई नयाँ सजावट देखाउन र आकर्षणका लागि कटेज र बस्ने स्थानको निर्माण हुनाले यसको बिक्रीमा आधुनिकता वृद्धि बढेको देखिन्छ । अहिले पनि ग्रामीण क्षेत्र तथा शहरमा सुत्नका लागि बाँसको खाटसमेत बनाइएको देखिन्छ ।
बाँस खरीद गर्न आफू सुनसरीको देवानगञ्ज, हरिनगरा र भुटहाको ग्रामीण क्षेत्रमा जाने गरेको मण्डलले जानकारी दिए । विगतको तुलनामा अहिले बाँस गाउँतिर नै महँङ्गो मूल्यमा खरीद गर्ने उनले जानकारी दिए । बाँस अहिले रु २३० प्रतिवटा खरीद गर्नुपर्ने र २८० देखि रु ३०० मूल्यसम्ममा बिक्री गरिँदै आइएको छ ।
बाँस खरीद गर्न गाउँमा जाँदा बैलगाडा लिएर जाने र त्यसमा ४० देखि ५० वटासम्म बाँस लोड गरेर ल्याउने गरेको उनले बताए । व्यापारीलाई गाउँबाट बाँस ल्याउँदा बाटो कच्ची भएकाले राति हिँड्दा विद्युत् बत्ती नहुने भएकाले धेरै समस्या हुने गरेको छ ।
वर्तमान अवस्थामा कालोपत्र बाटोको निर्माण नहुनाले गाडा चलाउन समस्या भएकाले दुःख लागेको उनको भनाइ छ । बाँस खरीद गरेर ल्याइपछि सबै दिन एकैनाशको व्यापार नहुने भएकाले कहिलेकाहीँ त खरीद गरी ल्याइएको बाँस एउटा पनि बिक्री नभई सबै सुक्ने गर्दछन् । खरीद मूल्यभन्दा कममा घाटा खाएर बाँस धेरै सस्तोमा बिक्री गर्नुपर्ने समस्या रहेको उनले जानकारी दिए । ग्राहकले माग गरेमा आफूले घरघरसम्म बाँस लगिदिनेसमेत गरेको उनले बताए ।
आफ्नो पाँच जनाको परिवारको पालनपोषण यही बाँसको कारोवारले गर्दै आइरहेको र यसको व्यापारबाट महिनामा राम्रो आम्दानी भएको हुँदा पेशाप्रति सन्तुष्ट लागेको मण्डलले जनकारी गराए ।
विराटनगर–११ निवासी रविन साह पनि विगत तीन वर्षदेखि बाँसको व्यापार गर्दै आएका छन् । बाँस सुनसरीको गाउँबाट खरीद गर्ने र घरमा राखेर बेच्दै आइरहेको उनले बताए । ग्राहक घरमा आएर बाँस खरीद गरी लाने गरेको उनले जानकारी दिए ।
चाडपर्वका समयमा अन्य महिनाको तुलनामा बाँसको बिक्री अत्यधिक हुने गरेको र त्यसबेला आम्दानी राम्रो हुने गरेको छ । विगतको तुलनामा ग्रामीण क्षेत्रमा कृषकले बाँस बढी मूल्य राखेकाले महङ्गोमा खरीद गर्नुपर्ने बाध्यता रहेको छ । उनी ग्राहकले नबुझेर अत्यन्त मोलमोलाई गर्दा दुःख लाग्ने गरेको बताउछन् ।
बाँसका व्यापारीले विराटनगर महानगरपालिकाले ग्राहकलाई सहज खरीदका लागि एउटा बिक्री केन्द्रको व्यवस्था गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । त्यस्तै मोरङको कदमाह निवासी–२४ वर्षीय लक्ष्मण मण्डलले घरबाट ठेलागाडामा बाँस ढुवानी गरी विराटनगरको हाटखोलामा ल्याएर बाँस बेच्दै आइरहेका छन् । उनले बाँस मोरङको नेताचोक, कर्सिया, तेतरिया र झोराहाटबाट खरीद गरी ल्याई बिक्री गरेको जानकारी दिए ।
उनले १६ वर्षको उमेरदेखि बाँसको खरीद बिक्री गर्दै आइरहेको जानकारी दिँदै घरपरिवारको खर्च चलाउनुपर्ने जिम्मेवारी आएपछि काम गर्नुपरेको बताए । मोरङको भित्री गाउँमा पसेर बर्षात् र हिउँदका समयमा समेत बाँस खरीद गर्ने र केही नाफा खाएर बिक्री गर्ने गरेको उनले जानकारी दिए ।
साउन भदौ महिनाबाहेक अन्य महिनामा बाँसको व्यापारबाट राम्रो मुनाफा आर्जन हुने व्यापारीको भनाइ छ । यसैगरी ६० वर्षीय श्याम सहनी बाँस बैलगाडामा घरघर डुली बिक्री गर्दै हिँड्ने गर्छन । उनी आफ्नो जीवन बाँस घरघरमा डुलाउँदै बिक्री गर्नमा बित्न लागेको बताउछन् ।
दिउँसोका समयमा सडक व्यस्त हुनाले बैलगाडा सञ्चालनमा बाधा हुने तथा ट्राफिक प्रहरीले पनि समस्या गर्ने हुनाले बिहानको समयमा बिक्री लागि बाँस ल्याउने गरेको उनीहरुको भनाइ छ ।
घरबाट बिक्रीका लागि बिहान हिँडेपछि सम्पूर्ण बाँस बिक्री नभएसम्म बिक्रीस्थलमा बस्ने, खाने गरेको उनीहरुको भनाइ रहेको छ । उनीहरुले घरबाट ल्याएको चिउरा, मुरी अथवा बिक्रीस्थलमा खाना पकाइ खाने गरेको बताए । बिक्रीस्थलमा अरु सबै ठिक भए पनि पानी र शौचालयका भने धेरै नै कष्ट व्योर्नुपर्ने उनको गुनासो रहेको छ ।
सानो व्यापार भए पनि ग्रामीण क्षेत्रबाट खरीद र बिक्रीका लागि ल्याउँदा गाउँपालिका र महानगरमा कर तिर्नुपर्ने हुँदा यसमा छुट गर्नुपर्ने व्यवसायिको आग्रह छ । घर सञ्चालनमा धेरै समस्या पर्ने भएकाले सम्पूर्ण बाँसको बिक्री नहुञ्जेलसम्मका लागि बिक्रीस्थलमा बस्ने गरेको उनीहरुले बताए ।