प्रदेश 1

नमूना बस्तीको घर लक्षित परिवारलाई

१० फागुन, दमक / झापाको दमक नगरपालिकाले आफ्नो घरजग्गा नभएका भूमिहीन परिवारलाई एकीकृत नमूना बस्ती निर्माण गरी नयाँ घरमा बसोबास गराउन थालेको छ । गतवर्ष नगरका भूमिहीनका लागि समान प्रकृतिका २३ घर परिवारलाई दिन थालिएको नगरपालिकाले जनाएको छ ।
दमक–१ मा नमूना एकीकृत बस्तीका रूपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा ती परिवारलाई नमूना बस्ती निर्माण गरिएको नगर प्रमुख रोमथान ओलीले बताए । नगरपालिकाको स्वामित्वको जमीन उपयोगसँगै अतिक्रमण हटाई क्रमिकरूपमा यस प्रकारका बस्ती निर्माण गर्ने योजनाअनुसार नमूनाबस्ती निर्माण गरिएको हो । नगर प्रमुख ओलीका अनुसार सो स्थानमा बसोबासका लागि नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गरेको र कहीँ पनि जमीन नभएको परिवार छनोट गरिएको हो ।
यस्तै, दमक– ७ को सुनचाँदीलाइनमा रहेको नगरपालिकाको जमीनमा बसोबास गरेका परिवारलाई पहिलो हकदार बनाइएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार तीन नमूना बस्तीको घरको संरचना आर्कषकसँगै व्यवस्थित रुपले तयार गरिएको छ ।
एक तले पक्की ती घरको छानोमा निलो रङको जस्तापाता लगाइएको छ । प्रत्येक घरमा विद्युत् र खानेपानी र सानो फूलबारीसमेत रहने प्रबन्ध छ । प्रत्येक घरमा आधुनिक तरिकाले बनाइएका दुई कोठा छन् । यसैसँग जोडिएको एउटा भान्छा कोठा छ । प्रत्येक घरमा मार्बल हालेर बनाइएको शौचालय—स्नान कक्ष जस्तै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । कूल रु तीन करोड ७० लाखमा बस्ती निर्माण गरिएको हो । यसमा तीनै तहका सरकारको लागत सहभागिता छ ।
बस्ती निर्माणमा सङ्घीय सरकारको स्थानीयपूर्वाधार विकास साझेदारी कार्यक्रमको एक करोड ४० लाख, प्रदेश सरकारको एक करोड ३० लाख र दमक नगरपालिकाको एक करोड खर्च भएको नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिए ।
लामो समयदेखि नगरपालिकाको जग्गामा बस्दै आएका घर पाएपछि मनमाया भुजेल हर्षित छन् । अहिलेसम्म घरवारविहीन भएका भुजेल परिवारले अहिले आफ्नै घरमा बस्न पाएपछि खुशी भएको छ ।
यसवर्ष फेरि सोही नमूना बस्तीनजिकै वडा नं ७ मा सोही प्रकृतिका दोस्रो नमूनाबस्तीमा १५ घर बनाइएको र ती पनि यस्तै विपन्न नागरिकलाई बसाउने स्थानीय सरकारको योजना छ । ती घर पनि यसैवर्ष नगरका भूमिहीनलाई हस्तान्तरण गरिने योजना रहेको वडाध्यक्ष भीम पौडेलले बताए । नमूनाबस्ती घर सङ्घीय निर्वाचन साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो । साझेदारी कार्याक्रम अन्तर्गत १५ घर बनाउन कूल रु एक करोड ९२ लाख विनियोजन गरिएको थियो जस अनुसार प्रतिघर रु १२ लाख ८६ हजारको लागत रहेको जनाइएको छ ।

कूलमायाको परिवारलाई घर बनाइँँदै

दुई वर्षअघि आगोले जलेर मृत्यु हुनुभएकी आर्थिक रुपमा विपन्न झापा, कमल गाउँपालिका–६ की कूलमाया बस्नेतको परिवारलाई स्थानीयवासीको सक्रियतामा घर निर्माण शुरु गरिएको छ ।
कूलमायालाई बचाउन गठन गरिएको अभियान समितिलाई नै हाल घर निर्माण समितिमा रुपान्तरण गर्दै स्थानीयवासीले कूलमायाको परिवारलाई घर बनाइदिने भएका हुन् ।
सोका लागि हुकुमसिंह राईको नेतृत्वमा नौ सदस्यीय समिति पुर्नगठन गरी त्यसै अनुसार घरनिर्माणको काम थालिएको समितिका सदस्य हर्क राईले जानकारी दिए । वर्षौंदेखि अर्काको जमीन रेखदेखका लागि बसेका र घरबारबिहीन अवस्थाका कूलमायाका परिवारलाई बसोबास गराउन सो ठाउँको आँपडाँडामा आवासको व्यवस्था मिलाउने गरी घरनिर्माण थालिएको समितिले जनाएको छ ।
समितिका संयोजक राईका अनुसार नेपाल परिवारबाट बस्नेत परिवारलाई १० धुर जग्गा उपलब्ध गराइएको छ । सोही जग्गामा समितिको सक्रियतामा सहयोग जुटाएर स्वर्गीय कूलमायाका बुबा देवीबहादुर, छोरा विदुरसहितको परिवारको बसोबासका लागि चार कोठाको घर बनाउन शुरु गरिएको संयोजक राईले बताए । समितिले सबैको सहयोगमा घर निर्माण सम्पन्न गरेर बस्नेत परिवारलाई हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।
कूलमाया बचाउका लागि दाताबाट दुई वर्ष अघिनै जुटाइएको करीब तीन लाख ५० हजार बैंक मौज्जाद छ । सो रकमको ब्याजबापतको रकम निकालेर यसअघि देवीबहादुरका छोरा विदुरको उपचारका लागि दिइएको र घर निर्माण अन्य दाताबाटै पूरा गरी बस्नेत परिवारको जीविकोपार्जनका लागि सो रकमसमेत हस्तान्तरण गरिने संयोजक राईले बताए ।