बाग्मती

माधवनारायणका वर्तालुलाई खुवाइयो खीर

९ फागुन, काठमाडौँ / पौष शुक्ल पूर्णिमादेखि शङ्खरापुर नगरपालिकाको साँखुमा माधवनारायण व्रत गरिरहेका वर्तालुलाई आज खीर तस्मी भोजन गराइएको छ । बर्तालुलाई प्रत्येक वर्ष माघ शुक्ल नवमी अर्थात द्रोण नवमीका दिन खीर भोजन गराउने परम्परा छ ।
खीरसँगै फलफूलका रुपमा उखु र सुन्तला, केराउ एवं पालुङ्गोको सब्जी पनि खुवाउने परम्परा रहेको साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले राससलाई जानकारी दिए । वर्तालुलाई यसअघि पशुपतिनाथ, शेषनारायण र पनौतीमा पैदल यात्रा गराइसकिएको छ ।
माघ शुक्ल एकादशीका दिन साँखुबाट भक्तपुरको चाँगुनारायणसम्म तीर्थयात्रा गराइन्छ । चाँगुनारायण मन्दिरमा माघ शुक्ल द्वादशीका दिन स्नान, पूजाआराधना गरी त्यसै दिन बेलुकी साँखु फर्कने व्रत विधि छ । विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।
कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी विनाहिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।
शनिबार र सार्वजनिक बिदा परेका दिन शालीनदीमा भक्तजनको भीड लाग्ने गरेको छ । शालीनदीस्थित माधवनारायण मन्दिर जाने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम छ । मास्क नलगाई जानेलाई समितिले निःशुल्क मास्क वितरण गरिरहेको छ । सबै भक्तजनलाई हातमा स्यानिटाइजर लगाएर मात्र मन्दिर प्रवेश गराइन्छ ।

शालीनदी जान पाइँदैन सार्वजनिक यातायात

मन्दिर नछिर्ने तर शालीनदी क्षेत्रमा आउने भक्तजनलाई भने समितिले माइकिङ गरेर मास्क लगाउन आह्वान गर्दै आएको छ । शालीनदीमा एकमहिने माधवनारायण मेलाका कारण साँखु, पालुवारी, जहरसिंपौवालगायत स्थानमा उपत्यकाका विभिन्न स्थानबाट चल्ने सार्वजनिक यातायात भीड हुने गरेको छ ।
बेलुकी भने ६ बजेपछि नै रत्नपार्क, सातदोबाटो, नयाँबानेश्वरलगायत स्थानबाट साँखु जाने बस नपाइने गरेको यात्रुको गुनासो छ । यसबाट बेलुका साँखु गएर बिहान शालीनदीमा स्नान एवं माधवनारायण पूजा आराधना गरेर फर्कन चाहने भक्तजन प्रभावित भएका छन् ।
दिनभर राजधानीको मुख्य भागमा काम गरेर घर फर्कने यात्रु पनि प्रभावित हुने गरेको स्थानीयवासी कृष्णमाया श्रेष्ठको गुनासो छ । केही सार्वजनिक यातायातले मेलाको मौका छोपी बढी भाडा लिन थालेको पनि यात्रुको दुःखेसो छ । यसअघि साँखु मार्गमा नदेखिएका सवारीले अहिले बढी भाडा लिन थाले पनि सरोकार भएका निकायले अनुगमन नगरेको यात्रुको भनाइ छ ।
साँखु बस व्यवसायी कम्पनीका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ साँखुबाट फर्कनेका लागि बेलुकी ७ बजेसम्म सवारीको व्यवस्था गरे पनि रत्नपार्क, सातदोबाटो, बानेश्वरलगायत स्थानबाट बेलुकी साँखु फर्कने सवारीलाई नियमित गर्न नसकिएको स्वीर्काछन् ।