स्वास्थ्य

भारतबाट आज १० लाख डोज कोरोना खोप नेपाल आउँदै

९ फागुन, काठमाडौं । कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिएका छन् ।

उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आज १० लाख डोज खोप आउन थालेको हो ।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ । उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ ।

खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

उनले सम्झौता अनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिएका छन् ।