राजनीति

संसद पुनःस्थापना नभएर चुनाव भयो भने नयाँ तानशाह जन्मने खतरा रहन्छः बरिष्ठ नेता पौडेल

८ फागुन, इनरुवा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका छन्, ‘संसदको विघटन सामान्य होइन । यो गम्भिर विषय हो । यो विघटन जानजानी देखादेखी हाक्का हाक्की संविधान माथिको अतिक्रमण हो । हामीले बनाएको केपी ओलीको समेत सहमतिमा संविधानसभाबा संविधान बनाएको हो । संसद विघटन पटक पटक भएकाले मुलुकमा अस्थीरता निम्तियो । मुलुक विग्रहमा गयो । २०५१ सालमा संसद विघटन हुँदा माओवादीको जन्म भयो । हामै सभापति शेरबहादुर जीले संसद विघटन गर्दा राजा ज्ञानेन्द्रले सत्ता हत्याए । जसले गर्दा संसदीय व्यवस्था, हाम्रो पार्टी, मुलुकको विकासलाई क्षति भयो । यीनै कारणले हामीले संविधानसभामा संविधान बनाउदा धेरै छलफल गरेर प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कटौती गरेको हो । दुई वर्षसम्म प्रधानमन्त्रीका विरुद्धका अविश्वासको प्रस्ताव ल्याउन नपाईने व्यवस्था सहितको संसदीय व्यवस्था संविधानमा हामीले राखेको हौं । संविधान बनाउने क्रममा केपी ओली माधव नेपालहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्दै थिए । प्रचण्डहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने भन्दै थिए । तर हामीले संसदीय व्यवस्था संविधानमा राख्नुपर्छ भन्दै समानुपातिक व्यवस्थाको ग्यारेण्टीका लागि संसदीय व्यवस्था राख्नुपर्छ भनेको थियौ । संविधानमा राखिएको समानुपातिक व्यवस्थाको कार्यान्वयनका लागि संसदीय व्यवस्था भन्दा संभव थिएन । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुँदा किन संसदलाई टेर्छन् । संसदप्रति प्रधानमन्त्रीलाई उत्तरदायी बनाउनका लागि राज्यको महत्पूर्ण निकायमा पुग्नेहरुलाई त्यो समानुपातिक व्यवस्था अनुसार मधेशी दलित जनजाती मधेशी महिला पिछडिएको क्षेत्र प्रति उत्तरदायी बनाउनका लागि संसदीय व्यवस्थामा हामीले अडान लिएका हौं । संसदीय व्यवस्थामा संसदबाट प्रधानमन्त्री बन्छ । त्यही संसद प्रति उत्तरदायी हुने हो ।’
उनले सुनसरीको इनरुवास्थीत काँग्रेस जिल्ला कार्यालयमा बोल्दै संसदको विघटन गर्ने हिम्मत प्रधानमन्त्रीलार्ई कहाँबाट आयो ?भन्ने कडा प्रश्न गरेका छन् । नेता पौडेलले, ‘प्रधानमन्त्रीले संविधानका विषयमा थाहा नपाएको होइन नि र? संविधान बनाउदा एकएक मान्छे अग्नी खरेल, सुवास नेम्वाड केपी ओलीलाई अहिले सल्लाह दिने स्थानमा छन् । त्यसो भएकाले केपी ओलीले लहडमा लागेर संसद विघटन गरेका छै्रनन् । यसैले यहाँ गम्भिर विषय हो ।’ भनेका छन् ।
शुक्रबारबाट केहीदिनका लागि प्रदेश नम्बर १ को भ्रमणमा निस्किएका बरिष्ठ नेता पौडेलले भने, ‘नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रीक भनेको छ । ओलीको संसद विघटन गर्ने कदमको विरोधमा कांग्रेसले देशभर आन्दोलन गरेको छ । अलोकतान्त्री र असंवैधानिक तबरले भएको संसद विघटना सच्चिनुपर्छ भनेको कांग्रेसको निर्णयमा भनिएको छ । कांग्रेसले अदालतले जे गर्छ त्यही ठिक भन्नका लागि ओलीको कदमको विरोध देशभर गरेको हैन नि । हामीले त अहिले नै देशभर ओलीको कदमको विरोधमा उत्रिएका छौ । अलोकतान्त्रीक कदम भनेका छौं ।’
उनले भने, ‘त्यसकारणले कांग्रेसका नेताहरुको दुई थरि विचार आयो भन्नेमा आम नेता कार्यकर्ता अन्योलमा पर्नु पर्दैन् । अहिले कांग्रेसका नेताहरु कोही संसदको पुर्नस्थापन भन्ने कोही अदालतले जे भन्छ त्यही गर्ने चुनावको तयारी गर्ने भन्ने विचार आयो भन्ने छ । तर त्यसो होइन कांग्रेसले यो कदम असंवैधानिक हो भने निर्णय गरिसकेको छ । असंवैधानिक भनेको के हो ? असंवैधानिक भन्ने अनि मन्त्र झै जपेर बस्ने हो र ? असंवैधानिक हो भने त संवैधानिक बनाउनु पर्यो नि । त्यो संवैधानिक बनाउने भनेको संसदको पुनस्थापना हो कि होइन ? जनताले भरोसा गर्ने पार्टी कांग्रेसलाई बनाउनका लागि पनि हामीले मुलुकलाई स्पष्ट दिशा दिनुपर्छ ।’
नेता पौडेलले प्रश्नहरु तेस्र्याए, ‘अदालतले सदर गर्ने तर चुनाव पनि नहुने भए नेपाल कहाँ पुग्छ र? अनि अर्को कुरा चुनाव भएर पनि नयाँ तानशाह जन्मने अवस्था आउन सक्छ । चुनाव हुने संसद बन्ने प्रधानमन्त्री पनि बन्ने तर नयाँ प्रधानमन्त्रीले फेरि संसदको पूरा कार्यकाल पूरा नभइ विघटन गर्ने, प्रधानमन्त्रीलाई झोँक चलेपछि संसद विघटन गर्ने परम्पराले मुलुक दिर्घकाल सम्म अस्थीर बन्ने भयो ।’
नेता पौडेलले त्यसो भएकाले कांग्रेस जनताको भरोसाको केन्द्र बन्नका लागि आफ्नो सिद्धान्तमा अडिग हुनुपर्छ, पदकको लोभमा परेर अनि संसद मन्त्री तथा प्रधानमन्त्री बन्नका लागि हामफाल्ने काम गर्नु हुन्न भने ।
उनले, ‘मलाई केहि पत्रकार साथीहरुले सोध्नुभयो । अदालतले संसदको पुनस्थापना गराईदियो भने तपाई के गर्नुहुन्छ भनेर । मैले भने म प्रश्न गर्छ, यो देशमा न्याय मरेको छ कि छैन भने अनि म प्रश्न गर्छ यो देशमा संविधान पढेर संविधानको व्याख्या गर्ने न्यायमुर्तीहरु छन् कि छैनन् ?
बरिष्ठ नेता पौडेलले भाबुक हुँदै थपे, ‘केपी ओलीले सरक्क प्रतिनीधिसभाको चुनाव गराएर कांग्रेसलाई सत्ता सुम्पनका लागि प्रतिनीधिसभा विधटन गराएका हुन् । ओलीले आफुसंग भएको दुईतिहाईको बहुमत विघटन गरेर शेरबहादुर जीलाई सत्ता सुम्पन्छन् । त्यसो भएका हुनाले यो प्रतिनीधिसभाको पुनःस्थापना हुनुपर्छ । अहिले हेर्दा त सरक्क चुनाव हुन्छ हामी जितिहाल्छौ भन्ने होला । संसद पुनःस्थापना हुँदा मन्त्री बन्ने सांसद बन्ने सवै उनिहरु नै हुन । चुनाव भयो भने हामी जितौंला तर अहिले हामीले तत्कालिन फाइदा हेर्ने कि मुलुकलाई संविधानलाई र लोकतन्त्रलाई हेर्ने ? अहिले अदालतका बारेमा किन बोल्ने भनिदैछ । कांग्रेसको इतिहाँस खोजौं कहाँ के के भएको छ । हामीले किन नबोल्ने ? हामी त जनता हौं । व्यवस्थापिका कार्यपालिका र न्यायपालिका बीचमा शक्ति पृथकिकरणको सिद्धान्त अनुसार एउटामा छलफल भइरहेको बिषय अर्को ठाँउमा छलफल गर्नु हुन्न भनिएको छ । तर पनि कहिले काँही संसदमा पनि कुरा उठ्ने गरेका छन् । हामीले पनि कहिले काँही प्रश्न गरेका छौ । अहिले त हामी जनता हामी प्रतिपक्ष दल संविधान र राष्ट्रको भविश्य सोच्ने पार्टी नेपाली कांग्रेस हामीले संविधानको रक्षा गर्ने दायित्व बोकेका छौं । हामी बेखरबर बस्न मिल्दैन । मोहि माग्ने ढुंग्रो लुकाउने हुँदैन् । कांग्रेसले अदालतलाई पनि खबरदारी गर्नुपर्छ । अहिले मलाई प्रश्न गर्न मन लागेको छ । अदालतसंग सेटिङ हो होइन भने किन अदालतले जे गर्छ त्यही भनिदैछ ?’
उनले भने, ‘होइन भने खेत रहेमात्र बाली लगाउन पाइन्छ, खेतै बगायो भने कहाँ बाली लगाउने । त्यसकारण हामीले पहिला संविधान जोगाउन लाग्ने हो । संविधान जोगाएपछि चुनाव त आज नभए भोली भोली नभए पर्सी हुन्छ नै । अहिलेको संसद विघटनलाई हामीले असंवैधानिक कदम भनेको छौ । यो असंवैधानिक ढंगबाट गराएको चुनावमा हामी कसरी जाने रु यो हाम्रो आफ्नै निर्णय विपरित हुन्छ । पंचायतले गरेका चुनावमा हामीले बहिष्कार गरेका हौ । ती संवैधानिक नभए नै बहिष्कार गरेको हौ । ज्ञानेन्द्रले गराएको चुनाव पनि बहिष्कार गराएका हौ । त्यसो भएकाले अब संसद पुर्नस्थापना गरेर संविधान जोगाउनुको विकल्प छैन् ।’
बरिष्ठ नेता पौडेलले भने, ‘अहिले प्रदेश नम्बर एकमा सत्तामा रहेका कम्युनिष्टहरु नै अविश्वासको प्रस्ताव राख्ने, सत्तामा रहेका कम्युनिष्टहरु प्रदेशसभा वहिष्कार गर्ने गरेका छन् । हामी के गर्ने भनेर अलमलमा छौ । तर कांग्रेसको भूमिका भनेको अलमलमा पर्ने होइन प्रदेशसभामा आएको अविश्वासलाई सर्मथन गरेर सरकार गिराइदिने हो । पहिला कम्युनिष्टहरुको सरकार ढालिदियौं । अनि के गर्ने छलफल गरौला । कम्युनिष्टहरु पनि हामी विना सरकार नबन्ने भएपछि ल सरकारको नेतृत्व लिनुपर्यो भनेर आउछन् । हामी प्रतिपक्ष हौं । हाम्रो भूमिका भनेको कम्युनिष्टहरु आफैं अविश्वासको प्रस्ताव लिएर आउछन भने सरकार ढालिदिने हो ।’
नेता पौडेलले भने, मैले पार्टीका ३ वटा प्रस्ताव राखेको थिए, संवैधानिक अंगका नियुक्तीको खारजी, संसदको पुनःस्थापना र प्रदेशमा दर्ता भएको अविस्वासको प्रस्तावको पक्षमा मतदान गरौ भन्ने तर मेरो प्रस्ताव पास भएन् । पार्टी निर्णय विहिन भएर पार्टी बसिराखेको छ । हामी निर्णय विहिन बन्ने होइन हामीले त मुलुकलाई दिशा दिने हो मुलुकलाई बाटो देखाउने हो ।’कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की, प्रदेश नम्बर १ संसदीय दलका नेता तथा सुनसरी जिल्ला सभापति राजीव कोईराला, पुर्व राज्यमन्त्री सिताराम मेहतालगायतका नेताहरुले सरकारको संसद बिघटनको बिरोध गरेका थिए ।