लुम्बिनी

नेपालगञ्ज–पोखरा विमान सेवा उडान शुरु

८ फागुन, बाँके / सीता एयरले शुक्रबारदेखि नेपालगञ्ज–पोखरा विमान सेवा शुरुआत गरेको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस नाट्टा बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीताले उडान सेवा शुरु गरेको हो ।
बाँके र बर्दियाका पर्यटन व्यवसायीको नेतृत्व गर्दै नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा। धवल शमशेर राणासहितको टोली नेपालगञ्ज विमानस्थलबाट पोखरा उडेको थियो । पोखरा विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर विसीले स्वागत गरेका थिए ।
पोखराबाट पनि शुक्रबार नाट्टाको १७ पर्यटन व्यवसायी बाँके र बर्दियाका पर्यटकीय गन्तव्यको अवलोकन गर्न आएका छन् । पर्यटकीय गन्तव्यको अवलोकन गर्ने कार्यक्रम रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

निःशुल्क बालरोग शिविर

बर्दियाको बाँसगढीस्थित एसओएस स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क बालरोग शिविर सञ्चालन गरिएको छ । सो केन्द्र, लायन्स क्लब अफ नेपालगञ्ज सेन्टर र अलस्का रामारोशन मेडिकल हल नेपालगञ्जले संयुक्तरुपमा शिविर आयोजना गरेका हुन् ।
भेरी अस्पतालका बालरोग विशेषज्ञ डा विष्णुबहादुर थापाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए । शिविरमा ६८ बालबालिका लाभान्वित भएका एसओएस प्रमुख शिव चौधरीले जानकारी दिए ।
बाँसगढी नगरपालिकाका वडा नं २, ३, ४, ५, ६ का र बढैयाताल गाउँपालिका वडा नं ४ र ५ का विपन्न परिवारले पनि शिविरबाट स्वास्थ्य सुविधा लिएका थिए । शिविरमा प्रयोगशाला परीक्षणका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।
एसओएस युवालय नेपालगञ्जका प्रमुख तुलाराम विश्वासले सन २०२१ भित्र सहयोगी संस्थासँगको सहकार्यमा १० निःशुल्क शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।