सामाजिक सञ्जाल

उपराष्ट्रपति/सभामुख नै राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उपस्थित नभइ प्रचण्डपथमा हिड्नु गैरजिम्मेवारीः सुर्य थापा

८ फागुन, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले प्रदेश २ का प्रदेश प्रमुखको शपथ बहिस्कार गरेको भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै थापाले उपराष्ट्रपति र सभामुख नै राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उपस्थित नभइ प्रचण्डपथमा हिड्नु गैरजिम्मेवारी कदम भएको कटाक्ष गरेका छन् ।

नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै पुन र सापकोटाले शुक्रबारको शपथ बहिस्कार गरेपछि थापाले यस्तो स्टाटस राखेका छन् । उनले अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गंभीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमको उपस्थिति स्वेच्छिक नभएको उनको भनाई छ ।

थापाले उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी भएको टिप्पणी गरेका छन् ।

उनले अझ नबोल्ने सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि नमिल्ने बताएका छन् । उनले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता पूर्वहरूको बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन भएको धारणा व्यक्त गरेका छन् ।

उनले बहालवाला उपराष्ट्रपति र सभामुखको यसप्सकारको अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि लाजमर्दो भएको भन्दै बिभिन्न प्रश्न समेत गरेका छन् ।