बाग्मती

कान्ति भैरव माध्यमिक विद्यालय पुनःनिर्माणका लागि शिलान्यास

७ फागुन, काठमाडौँ / भारत सरकारको अनुदान सहयोगमा पुनःनिर्माण हुने काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका मिसन उपप्रमुख नामग्या खम्पाले बिहीबार संयुक्तरूपमा विद्यालय भवन शिलान्यास गरेका थिए । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा पुनःनिर्माण हुन लागेको नमूना विद्यालय भारतीय अनुदान सहयोगमा पुनःनिर्माण हुन लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय हो । मूल्यअभिवृद्धि करबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ मा ठेक्का लागेको कार्यक्रममा जानकारी गराइएको छ ।
शिलान्यासपछि मन्तव्य राख्नुहुँदै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमूना भवन बन्न लागेकामा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास व्यक्त गरे ।
“सामुदायिक विद्यालयमा भवनसहितका पूर्वाधार निर्माणमा भएको आन्तरिक लगानी र बाह्य सहयोगले शिक्षाको गुणस्तर वृद्धि मात्र होइन, शिक्षा प्राप्तिमा देखिएको विभेद कम गर्न पनि पक्कै योगदान गर्नेछ”, उनले भने । भारतीय राजदूतावासका मिसन उपप्रमुख खम्पाले विद्यालय पुनःनिर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्ति भैरव माध्यमिक विद्यालयको पुनःनिर्माण दुई देशबीचको मित्रताको अनुपम नमूना हुने विश्वास व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य दीपकप्रसाद कुइँकेल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाका आयोजना निर्देशक रामशरण सापकोटाले पनि मन्तव्य राखेका थिए ।
फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनःनिर्माण हुन लागेको यस पाँच तले नमूना विद्यालयमा कूल ६० वटा कोठा हुनेछन् । त्यसमा ३० वटा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयका लागि पाँचवटा कोठा, प्रधानध्यापकका लागि एउटा कोठा, दुईवटा अभिभावक भेटघाट कोठा, एउटा प्रशासन कोठा, एउटा लेखा कोठा, शिक्षक तथा शिक्षिकाका लागि आठवटा कोठा र विद्यालयको आवश्यकतानुसार प्रयोग गर्न मिल्ने थप आठ कोठा रहनेछन् ।
यसैगरी चमेनागृह, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीनवटा ब्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मञ्ञको पनि निर्माण हुनेछ । भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुनेछन् । विद्यालयका शिक्षक विष्णुप्रसाद पौडेलका अनुसार विद्यालयमा करिब ९०० विद्यार्थी अध्ययनरत छन् । निर्माण अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको थियो । शिलान्यास आज भए पनि गत माघ २६ गतेदेखि नै निर्माण शुरु भएको छ ।
भूकम्पपछि शैक्षिक क्षेत्र पुनःनिर्माणमा भारतीय अनुदान आयोजनाअन्तर्गत बन्न लागेको यस विद्यालयको परामर्शदाता भारतीय संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान, रुरकी रहेको छ । भारत सरकारले विद्यालय पुनःनिर्माणमा पाँच करोड अमेरिकी डलर बिहीबारको विनिमयदर ११६ अनुसार करिब पाँच अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ । अनुदान सहयोगमा आठ जिल्लामा ७१ वटा संरचना निर्माण हुनेछन् । तीमध्ये आठवटा सम्पन्न भइसकेका छन् भने ५६ वटा पुनःनिर्माणको विभिन्न चरणमा छन् ।
कान्ति भैरवसहित थप छवटा विद्यालयको बिहीबारकै कार्यक्रममा प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाका आयोजना निर्देशक रामशरण सापकोटा र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माबीच सझदारीपत्रमा हस्ताक्षर भएको छ ।