पु.समाचार

पहिलो सेनापति शिवरामसिंहको २७५औँ पुण्यतिथि

६ फागुन, काठमाडौं । नेपाल एकीकरण अभियानमा गोरखा राज्यको पहिलो सेनापति वडावीर शिवरामसिंह बस्न्यातको २७५औँ पुण्यतिथिका अवसरमा शङ्खरापुर नगरपालिका–३ जहरसिंह पौवास्थित साँगाचोकमा उहाँको योगदानको स्मरण गरिएको छ ।
श्रीपाली बस्न्यात समाज नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष नीरञ्जनमानसिंह बस्न्यातले श्रीपाली बस्न्यात कल्याणकारी कोष, वडावीर शिवरामसिंह बस्न्यातको शालिक निर्माण, स्मारिका प्रकाशन र प्रवुद्ध व्यक्तिको बैठक गर्ने घोषणा गरे ।

बस्न्यातका माहिला छोरा केयरसिंह बस्न्यातका जेठा छोरा जहरसिंह बस्न्यातले पाटी बनाएकाले सो ठाउँको नाम जहरसिंह पौवा रहन गएको हो । विसं २०१४ सम्म सो पाटीमा बस्न्यात समाजले श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन भण्डारा लगाउने गरिएको थियो । पछि पाटी मासिएपछि यस परम्परा अन्त्य भएको समाजका सल्लाहकार एवं वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले जानकारी दिए ।

तिब्बत्सम्म पैदल जाने यो मार्गमा हिँड्नेलाई बस्न सजिलो होस् भनी पाटी निर्माण गरिएको हो । कार्यक्रममा समाजका सदस्य शेखरसिंह, पृथ्वीमानसिंह र भोलामानसिंह बस्न्यातले राष्ट्रिय एकीकरण, पृथ्वीनारायण शाह र शिवरामसिंहको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । वडावीर शिवरामसिंहले विक्रम सम्वत १८०३ फागुन ५ गते अर्थात् आजभन्दा २७५ वर्ष अघि एकीकरण अभियानको सिलसिलामा साँगाचोकमा वीरगति प्राप्त गर्नुभएको थियो । हालै नेपाली सेनाले महत्व दिई ‘राष्ट्रिय एकीकरण मार्ग’ को अवधारणमासमेत उक्त जहरसिंह पौवा क्षेत्रलाई समावेश गरेको छ ।

सेनापति शिवरामसिंह बस्न्यात नेपाल एकीकरण अभियानका गोरखा राज्यका पहिलो सेनापति हुनुहुन्थ्यो । शिवरामसिंहको लडाइँमा भएको मृत्यु पश्चात उहाँकी श्रीमती वीराड्गना शुरप्रभा बस्न्यातले आफ्ना टुहुरा छोराहरु लिएर गोरखा दरबारमा राजा पृथ्वीनारायण शाहलाई भेटी “बाघ त गोरखाको लागि मरिहाले, यी चार डमरुले पछि गोरखाको लागि काम गर्नेछन्” भनी भनेको इतिहासमा उल्लेख भएको पाइन्छ ।

पछि उनीजत्तिकै सक्षम र इमान्दार उनका चार छोरा क्रमशः काजी नाहरसिंह बस्न्यात, काजी केहरसिंह बस्न्यात, काजी अभीमानसिंह बस्न्यात र काजी धोकलसिंह बस्न्यात, राजा पृथ्वीनारायण शाहको मरवट नीतिअनुरुप हुर्के बढेर एकीकरण अभियानमा संलग्न भई नेपाल राज्य विस्तार र सुदृढ गर्न निकै महत्वपूर्ण योगदान दिएको नेपालको इतिहासमा उल्लेख भएको पाइन्छ ।

नेपालको एकीकरण अभियानमा अग्रणी भूमिका खेल्ने भारदारमा एक महत्वपूर्ण भारदार सेनापति बडावीर शिवरामसिंह वस्न्यात हुन् । राजा पृथ्वीनारायण शाहले बस्न्यात र पाण्डेबीच सम्बन्ध सुधार गर्न सेनापती बडावीर शिवरामसिंह बस्न्यातका माहिला छोरा काजी केहरसिंह बस्न्यातको विवाह काजी कालु पाण्डेको छोरी चित्रादेवी पाण्डेसँग गराइदिएको भनाइ छ ।

नेपाल एकीकरण गर्न “बस्न्यातको तरवार र पाण्डेको ढाल” भनी इतिहासमा उल्लेख गरेको पनि पाइन्छ । वीरहरुले आफ्नो अथक परिश्रम र प्रयास मात्र गरेको होइन आफ्नो जीउज्यान नै नेपाल एकीकरणका लागि आहुती गरेको इतिहासमा पाइन्छ । गोरखाका राजा पृथ्वीनारायण शाह र उनका अनुयायीको अथक परिश्रमबाट नेपालको एकीकरण अभियान सञ्चालन भई नेपाल निर्माण भएको हो ।
डा नीरञ्जनमानसिंह बस्नेतले हालै “ए सर्ट बायोग्राफी अफ किङ पृथ्वीनारायण शाह आएण्ड हिज काउन्सिल टु द पिपुल अफ नेपाल” नामक पुस्तक अङ्गेजी, फ्रेन्च र स्पेनिस भाषामासमेत प्रकाशन गरी पृथ्वीनारायण शाह, नेपालको एकीकरण र उहाँको दिव्य उपदेशबारे अन्तर्राष्ट्रियकरण गर्न सफल भएका छन् ।

हालै नेपाली सेनाले महत्व दिई ‘राष्ट्रिय एकीकरण मार्ग’ को अवधारणामासमेत जहरसिंह पौवा क्षेत्रलाई समावेश गरी कामको थालनी गरेको छ । राष्ट्र निर्माणमा अति महत्वपूर्ण भूमिका खेलेका यस्ता वीर पुरुष तथा महिलाको उच्च सम्मान हुनुपर्ने प्रतिष्ठानले जनाएको छ ।