लुम्बिनी

टाँगा सञ्चालन गर्न नपाउँदा व्यवसायी मर्कामा

५ फागुन, बाँके / परम्परागत रुपमा टाँगा चलाएर जीविका चलाइरहेका यहाँका बासिन्दा यतिबेला परिवार पाल्न समस्यामा परेका छन् । बर्दियाको गुलरियादेखि भारतीय सीमा नाका मूर्तिहासम्म टाँगा सञ्चालन गर्न नपाएपछि परिवार पाल्ने कि टाँगा तान्ने घोडा पान्ने उनीहरुलाई समस्या परेको छ ।
गत चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी भएदेखि हालसम्म बर्दियासँगै जोडिएको भारतीय सीमामा पर्ने मूर्तिहा नाका सञ्चालनमा नआएपछि यहाँका ४२ टाँगा चालक बेरोजगार भएका छन् । बेरोजगार भएसँगै मूर्तिहा नाकासम्म टाँगा चलाउन पाउनुपर्ने भन्दै उनीहरु प्रशासन कार्यालय बर्दियामा पुगेका छन् ।
टाँगा व्यवसायीमै भर परेका उनीहरु पेशा गरेर खान नपाएपछि दैनिकी कष्टकर बन्दै गएको छ । नाका सञ्चालन नभएकै कारण गरीब टाँगा व्यवसायीको परिवारमा समस्या आएको उनीहरुको पीडा छ । उद्योग बजार यातायातलगायत सञ्चालनमा आएपछि सीमामा वारपार गर्नेलाई मात्रै रोक लगाइएको छ । बन्दाबन्दीका बेला पनि कसैसँग सहयोग नपाएको उनीहरुले गुनासो गरेका छन् ।
गुलरियादेखि भारतीय सीमा नाका मूर्तिहासम्म टाँगा सञ्चालन गर्ने उनीहरु बेरोजगार भएसँगै परिवार पाल्न कठीन भएकाले टाँगा सञ्चालनको अनुमतिका लागि पहल गरिदिन माग गरेका छन् । सरकारले बन्दाबन्दी हटाए पनि टाँगा व्यवसायीले भने आफ्नो व्यवसाय गरेर खान नपाएको अवस्था छ । विपन्न वर्गका आफू जस्ता ४२ जना टाँगा व्यवसायीको स्थिति गम्भीर बन्दै गइरहेको रामबहादुर खटिकले गुनासो गरे । उनीहरु गुलरिया नगरपालिकामा बासोबास गरी परम्परागत रुपमा पूर्खैदेखि टाँगा चलाई पेट पाल्दै आएका छन् ।
गुलरियास्थित सुरजपुरसम्म मात्रै टाँगा सञ्चालन गर्न दिइएको भए पनि यात्रु पाउन कठिन छ । मूर्तिहा नाकासम्मै टाँगा सञ्चालन गर्नका लागि व्यवसायीले माग गरेअनुसार बर्दिया जिल्ला प्रशासनले नेपाल सरकारसँग समन्वय गरी सहजीकरणका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

महिला भलिवल प्रतियोगिता हुने

सातौँ प्रधानमन्त्री आमन्त्रण महिला भलिवल प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म हुने भएको छ ।
बाँके जिल्ला भलिबल सङ्घका अध्यक्ष टिएस ठकुरी र प्रतियोगिताका मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसीले पत्रकार सम्मेलन गरेर सो जानकारी दिए ।
नेपालगञ्जको रङ्गशालास्थित कभर्ड हलमा हुने प्रतियोगितालाई विगतको भन्दा भव्य बनाउने मूल आयोजक समितिका सयोजक केसीले बताए । उनले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्ने उद्घोष गरे ।
सङ्घका अध्यक्ष ठकुरीले दक्षिण एशियाकै नम्बर १ क्लब च्याम्पियनसीप कपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्दै लगेको बताए । बाँकेका आठवटै पालिका उपप्रमुखहरुको एक्यवद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरलाई चयन गरिएको छ ।
पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका प्रमुख सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति रहेको थियो । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपिएफ तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौंमा एपिएफ र छैठौँ पुलिस विजेता भएका थिए ।