गण्डकी प्रदेश

प्राणी उद्यान निर्माण गर्न पाँच करोड ६१ लाख बजेट

गलकोट, ५ फागुन । बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) निर्माण शुरु भएको छ । नगरपालिकाले गत वर्ष निर्माण गरेको डिपिआरका आधारमा अहिले गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाखले जुलोजिकल पार्क निर्माण शुरु भएको छ ।

बागलुङ–५, ६ र ७ मा पर्ने पाँच सामुदायिक वनलाई प्राणी उद्यान बनाउन नगरपालिकाले अगुवाइ गरेपछि सार्थकता पाउन थालेको छ । पर्यटन उपज कार्यक्रमअन्तर्गत सङ्घीय सरकार र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत  पाँच करोड ६१ लाख हालै विनियोजन भएको छ ।

उक्त रकममध्ये सङ्घीय सरकारले रु तीन करोड ६५ लाख र बागलुङ नगरपालिकाले रु एक करोड ९६ लाख व्यहोर्नुपर्ने हुन्छ । उक्त रकम तीन वर्षमा खर्च गरिसक्नुपर्नेछ ।

सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि नमूना प्राणी उद्यान निर्माण शुरु भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

उक्त उद्यानको आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)तयार गरिएको थियो । नगरपालिकाले प्राणी उद्यान निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्स्ट्रक्सनले  आठ लाखको लागतमा सम्भाव्यता अध्ययनसहित डिपिआर तयार गरेको थियो ।

झण्डै रु २६ करोड लागतमा निर्माण गर्न लागिएको प्राणी उद्यान तीन वर्षमा आधारभूत पूर्वाधार निर्माण गर्न  पाँच करोड ६१ लाख बजेट विनियोजन भएको पौडेलले जानकारी दिएका छन् । “अहिले गण्डकी प्रदेश सरकारको रु ५० लाख लागतमा ठेक्कामार्फत तारबार र पैदलमार्ग निर्माणको काम शुरु भएको छ”, नगरप्रमुख पौडेलले भन्नुभयो, “तीन वर्षमा झण्डै रु छ करोडको काम हुनेछ, त्यतिबेलासम्म अन्य बजेटसमेत थपिँदै जाला, पाँच÷सात वर्षमा प्राणी उद्यानले सार्थकता पाउला ।”

अहिले बागलुङ–५ मालिका मन्दिरबाट ६०० मिटर पदमार्ग, ६०० मिटर तारजाली र वनस्पति परिहचानको काम शुरु भएको नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार जैविक विविधतायुक्त पर्यटकीय सामुदायिक वन, संसारकोट सामुदायिक वन, सुनाखरी सामुदायिक वन, वयलधारा सामुदायिक वन र तितौरे सामुदायिक वनको झण्डै ३७२ हेक्टर जङ्गलमा उद्यान फैलने छ ।

धेरै बजेट लाग्ने परियोजना भएकाले निर्माण सम्पन्न हुनका लागि लामो समय लाग्ने भए पनि निर्माणसँगै पर्यटन प्रवद्र्धन गर्दै लैजाने नगरपालिकाको योजना छ । पशुपक्षी, जडीबुटीको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जुलोजिकल पार्कको अवधारणा ल्याइएको थियो ।

उक्त पार्क निर्माणका लागि निरन्तरको पहलकदमीबाट सङ्घीय सरकारबाट पर्यटन साझेदारीमा बजेट विनियोजन गर्न सफल भएको निवर्तमान सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका विज्ञ नारायाण रुपाखेतीको समूहले बागलुङ नगरपालिका–५, ६ र ७ मा पर्ने पाँच सामुदायिक वनलाई प्राणी उद्यान बनाउन सकिने निष्कर्ष निकालेपछि उद्यान निर्माणले गति लिएको हो । सामुदायिक वनमा प्राकृतिक, पर्यटन, वन्यजन्तुलगायतका पाँच क्षेत्रलाई ध्यानमा दिएर जुलोजिकल पार्क निर्माण गर्न आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्स्ट्रक्सनले डिपिआर निर्माण गरेको थियो ।

उद्यान वरपर तीन किलोमिटर सडक, करिब दुई किलोमिटर पदमार्ग, दृश्यावलोकन स्तम्भ, रेष्ट्रो सेन्टर, जुलोजिकल पार्कभित्र र बाहिर बाटो निर्माण, ५० हेक्टर जमिनमा जङ्गल व्यवस्थापन केन्द्र र वन्यजन्तु उद्धार तथा जङ्गलको फायर निर्माणलगायतका संरचना निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।

प्राणी उद्यान नितान्त प्राकृतिक सम्पदालाई संरक्षण गर्दै निर्माण हुने भएकाले पर्यटकलाई समेत आकर्षण गर्न सक्ने नगरपालिकाको योजना छ । पर्यटकलाई सडकमार्ग र पदमार्गमार्फत जङ्गल सफारी गराउँदै जीवजन्तुको अवलोकन गर्न सकिने, जङ्गली जनवारको बासस्थान संरक्षण गर्ने नगरपालिकाको उद्देश्य रहेको नगरप्रमुख पौडेलले बताए ।

पर्यटकलाई आकर्षित गरी आरामदायी आतिथ्यता प्रदान गर्ने व्यवस्थाका लागि सुविधासम्पन्न होटल, रिसोर्ट सञ्चालनका लागिसमेत पहल र प्रोत्साहित गर्ने नगरपालिकाको योजना छ ।

जङ्गली जनवारको चोरी शिकार बढ्दै जानु तथा प्राकृतिक वातावरण नासिदै जान थालेपछि प्राकृतिक तथा जैविक विविधताको संरक्षणसँगै नगरपालिकाले प्राणी उद्यानको परिकल्पना गरेको थियो ।

सामुदायिक वन क्षेत्रमा सयभन्दा बढी प्रजातिका वन्यजन्तु रहेको अध्ययन तथा अनुसन्धानका क्रममा पाइएको छ । बागलुङमा पाँच कोटको सङ्गम मानेर निर्माण भइरहेको धार्मिक पर्यटकीयस्थल पञ्चकोट क्षेत्रमा पुग्ने पर्यटकलाई जुलोजिकल पार्क अवलोकनका लागि समेत लैजान सकिने छ ।