पर्यटन/संस्कृति

चार पर्यटनस्थल आयोजनाका लागि छनोट

४ फागुन, बाँके / पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट गरेको हो ।
बर्दियाबाट छनोट भएका चार आयोजनामा बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयातालको पूर्वाधार विकास, गेरुवा गाउँपालिकाको शहीद स्मृतिपार्क, ठाकुरबाबाको बलाती जैविक मार्ग पार्क र राजापुरको कोठीयाघाट वनभोज स्थल रहेका छन् । बढैयातालको पूर्वाधार विकास निमार्णका लागि अनुमानित लागत पाँच करोड रहेको छ । निमार्णका लागि मन्त्रालयले तीन करोड ५० लाख सहयोग गर्नेछ भने बढैयाताल गाउँपालिकाको एक करोड ५० लाख लगानी रहेको छ ।
शहीद स्मृतिपार्क निमार्णका लागि पनि अनुमानित लागत पाँच करोडमध्ये मन्त्रालयले तीन करोड ५० लाख र गेरुवा गाउँपालिकाको एक करोड ५० लाख लगानी रहने छ । यस्तै ठाकुरबाबाको बलाती जैविक पार्क निमार्णका लागि अनुमानित लागत रु सात करोड रहेकामा मन्त्रालयले चार करोड ५५ लाख र ठाकुरबाबा नगरपालिकाको दुई करोड ४५ लाख लगानी रहने छ ।
राजापुरको कोठीयाघाट वनभोज स्थल निर्माणका लागि अनुमानित लागत छ करोड ८९ लाख रहेको छ । यसको निमार्णका लागि मन्त्रालयले चार करोड ४८ लाख सहयोग गर्नेछ भने राजापुरको नगरपालिकाको दुई करोड ४८ लाख लगानी रहेको छ ।
मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट भएका छन् । मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये देशभरबाट २०० गन्तव्य छनोट भएका छन् ।
सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, वनभोज स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा पदमार्ग, व्यापारिक मल, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलागयत रहेका छन् ।

सामुदायिक सुरक्षा साइरन जडान

समुदायमा हुने विभिन्न आपराधिक घटनामा कमी ल्याई शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका–१८ बुद्धनगर टोलमा सामुदायिक सुरक्षा साइरन तथा सिसिटिभी जडान गरिएको छ । बुद्धनगर टोल सुधार समितिमा आवद्ध ३५ वटा घरबाट रु दुई हजारका दरले रकम सङ्कलन गरी जडान गरिएको कम्युनिटी सेक्युरिटी साइरन एण्ड सिसिटिभीको हालै उद्घाटन गरिएको छ । यो प्रविधिको प्रयोगले टोल समुदायमा हुने चोरी, डकैती, लुटपाट, लागुऔषधलगायत अन्य अपराध नियन्त्रणमा सघाउ पुग्ने विश्वास नेपालगञ्ज उपमहानगरकी उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँग र प्रहरी प्रमुख ओमजङ्ग राणाले व्यक्त गरे ।
टोलमा कुनै पनि समस्या आइपरेमा मोबाइलबाटै दिइएको कोड थिचेर टोलवासीले आफैँ साइरन बजाउन सक्नेछन् । साइरनको आवाज सुनेपछि र मोबाइलमा म्यासेज हेरेर सम्बन्धित व्यक्तिको घरमा पुगी समस्या समाधान गर्ने विश्वास टोल सुधार समितिका अध्यक्ष राजेश केशर खनालको छ । प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहज हुने भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी यो अभियानलाई बढावा दिने जनाएको छ ।